मिया गाउँमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २१ साउन / कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ मिया गाउँमा सोमबारदेखि ४ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

सिड फाउण्डेसन कास्कीको आयोजना तथा शिक्षा, स्वास्थ्य नेपालको प्राविधिक सहयोगमा सोमबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविर विहीबारसम्म जारी रहने सिड फाण्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापाले जानकारी दिए ।

शिविरमा कुवेतबाट आएका १२ जना चिकित्सक र काठमाडौंबाट २ जना चिकित्सक गरी कुल १४ जनाको टोलीले स्वास्थ्य परिक्षण गर्ने थापाले बताए ।

उनका अनुसार सोमबार र मंगलबार स्थानिय मुसलमान समुदायको मात्रै स्वास्थ्य परिक्षण गरिनेछ भने बुधबार र विहीबार सबैका लागि खुल्ला गरेर स्वास्थ्य परिक्षण गरिनेछ । चिकित्सकको टोलीले पेट सम्बन्धी रोगहरुदेखि नाक, कान, घाँटी, दाँत, आँखालगायत सबै प्रकारका जाँच गरेर औषधी वितरण गर्ने उनले जानकारी दिए ।

सबैको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने उद्धेश्यले पिछडिएको ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए । शिविरको सोमबार रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा रुपा–६ का वडाध्यक्ष नारायण गुरुङ, चन्द्रप्रभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहबक्स मिया, समाजसेवी ताज मोहम्मद मिया, डा.सुरेश दुलाल, कुवेतबाट चिकित्सक टोलीको नेतृत्व गरेर आएका डा.अलीलगायतले स्वास्थ्यमा सबैको पहुँच पु¥याउन यस्ता कार्य महत्वपूर्ण हुने बताए ।

कमेन्टहरु
Loading...