पोखराको पर्यटन प्रवद्र्धन गर्न भारतमा सम्झौता, तीन देश जोडेर पर्यटन प्याकेज बनाउन सुझाव

सुरेन्द्र पौडेल
सिक्किम (भारत, ३१ जेठ /पोखराका पर्यटन व्यवसायीले पोखरामा पर्यटन प्रवद्धन गर्न भारतका विभिन्न शहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका छन् । पोखरा पर्यटन परिषद (पिटिसी) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा साता व्यापी रुपमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको हो ।

यसैक्रममा पर्यटन प्रवद्र्धनका लागि भारत आएको टोलीले शनिबार सिलिगुडीका व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । उक्त अवसरमा पोखरा तथा समग्र नेपालका पर्यटकीय क्षेत्रहरुका बारेमा भारतका व्यवसायीलाई जानकारी गराइएको छ । टोलीले भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका छन् ।

गत वर्ष भूकम्प गएपछि पोखरा तथा नेपालमा आउने पर्यटकहरु घटेकाले भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा गरिएकोे पोखरा पर्यटन परिषदका अध्यक्ष सोमबहादुर थापाले बताए । ‘पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश प्रदान गरेका छौं,’ थापाले भने, ‘भारतमा सञ्चालन भएको प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटक बढ्ने विश्वास गरेको छु ।’

पोखराको पर्यटन प्रवद्र्धन गर्न भारतमा सम्झौता, तीन देश जोडेर पर्यटन प्याकेज बनाउन सुझाव
पोखराको पर्यटन प्रवद्र्धन गर्न भारतमा सम्झौता, तीन देश जोडेर पर्यटन प्याकेज बनाउन सुझाव

नेपाल आउने पर्यटकको संख्या भूकम्प भन्दा अगाडि उल्लेख्य रहेपनि गत वर्ष भूकम्प गएपछि घटेकाले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । ‘नेपालमा पर्यटक पठाउनका लागि भारतका भारतका ट्राभल एजेन्सीका प्रतिनिधिहरुसँग आग्रह गरेका छौं,’ उनले भने ।

उत्तरपूर्वी भारतको तीनवटा शहर सिलगुडी, गाण्टोक तथा दार्जलिङमा सेल्स, मार्केटिङ तथा प्रवद्र्धनात्मक कार्यक्रम लिएर व्यवसायीहरु भारत पुगका हुन् । पोखरा आउने भारतीय पर्यटक बढाउने लक्ष्यका साथ प्रवद्र्धनात्मक कार्यक्रम गरिएको परिषदका महासचिव रामु गौतमले बताए । ‘पोखराको पर्यटनका लागि महत्वपूर्ण क्षेत्रको रुपमा चिनिएको भारतीय सीमा शहर सिलिगुढी, सिक्किम तथा दार्जिलिङलाई लक्षित गर्दै प्रवद्र्धन कार्यक्रम आयोजना भएको हो,’ उनले भने । भारतका पर्यटन व्यवसायी, सरोकारवाला तथा पत्रकारबीच गन्तब्य प्रबद्र्धन तथा सेल्स प्रबद्र्धनका योजनाका बारेमा छलफल भइरहेको छ ।

सिलिगुढी, सिक्किम तथा दार्जिलिङ नेपालको महत्वपूर्ण पर्यटन बजार रहेको परिषदका अध्यक्ष थापाले बताए । भौगोलिक, ऐतिहासिक र परम्परागत सम्बन्धका कारणले पनि नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्यामा लामो समयदेखि एक रुपले स्थायित्व देखिएको उनले बताए ।

पोखराको पर्यटन प्रवद्र्धन गर्न सम्झौता

पोखरा पर्यटन परिसद र नेपाल पर्यटन बोर्डले भारतका विभिन्न सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । यसैक्रममा पोखरा पर्यटन परिसद (पिटिसी) र सिलिगुढीको इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एशोसिएशनबीच आपसी सहकार्य गर्ने सम्झौता (एमओयु)मा हस्ताक्षर भएको छ ।

पोखराको पर्यटन प्रवद्र्धन गर्न भारतमा सम्झौता, तीन देश जोडेर पर्यटन प्याकेज बनाउन सुझाव
पोखराको पर्यटन प्रवद्र्धन गर्न भारतमा सम्झौता, तीन देश जोडेर पर्यटन प्याकेज बनाउन सुझाव

सम्झौतामा पिटिसीका अध्यक्ष सोमबहादुर थापा र सिलिगुढीको इस्टर्न हिमालयका अध्यक्ष सुवशिस चक्रवर्तीले संयुक्त हस्ताक्षर गरेका छन् । सूचना आदानप्रदान गर्ने, भारत आएका तथा यहाँका पर्यटकलाई पोखरा पठाउन सहयोग गर्ने, अनुभव आदान प्रदान गर्ने लगायतका विषय सम्झौतमा समेटिएको छ । इस्टर्न हिमालय ट्राभलले हरेक वर्ष आयोजना गर्ने ट्राभल मार्ट तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्दा पोखरा पर्यटन परिषदलाई सहभागी गराउने पनि सम्झौता भएको छ ।

पोखरा र सिलिगुढीको संयुक्त पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने पिटिसीका अध्यक्ष सोम थापाले बताए । ‘दुवै ठाउँमा पर्यटकीय गतिविधि बढाउन सम्झौताले सकारात्मक योगदान दिने विश्वास गरेको छु,’ थापाले भने । उक्त अवसरमा बोल्दै इस्टर्न हिमालयका अध्यक्ष सुवशिस चक्रवर्तीले पर्यटन क्षेत्रमा व्यावसायिक सफलता प्राप्त गर्न सम्झौता सफल हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा बोल्दै सिलिगुडी म्यूनिसिपल कर्पोरेसनका कमिसनर सोनाम वाङदी भूट्टो सम्झौताले दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुगेको धारणा राखे । भुट्टोलाई पोखरा पर्यटन परिषदले पोखरा आउनका लागि निम्दो समेत दिएको छ ।

तीन देश जोडेर पर्यटन प्याकेज बनाउन सुझाव

नेपाल, भारत र भुटानलाई संयुक्त रुपमा जोडेर पर्यटन प्रवद्र्धन गर्न भारतका व्यवसायीले सुझाव दिएका छन् । तीन देशलाई जोडेर एउटै प्याकेज बनाउँदा विदेशी पर्यटक भित्र्याउन सजिलो हुने व्यवसायीको भनाइ छ । भुटान, भारतको सिक्किम, सिलिगुडी, दार्जलिङ र नेपालका पर्यटकीय क्षेत्रहरु र पर्यटकीय गतिविधिलाई समेटेर एउटै ब्रोसर तथा प्याकेजमा प्रचार–प्रसार गर्न सकिने भारतीय व्यवसायीको सुझाव छ ।

तीन देशलाई जोडेर प्याकेज बनाउन सके नेपाल, भारत र भुटानको पर्यटकीय गतिविधि अझ बढाउन सकिने सिलिगुडीको इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एशोसिएशनका अध्यक्ष सुवशिस चक्रवर्तीले बताए । ‘संयुक्त पर्यटन प्रवद्र्धनका लागि तीन देशलाई जोड्ने सर्किट महत्वपूर्ण छ,’ उनले भने ।

भारतको दार्जलिङ, सिलिगुडी, सिक्किम लगायतका क्षेत्रमा आएका प्राय पर्यटक भुटान जाने गरेको बताउँदै उनले नेपालमा आकर्षण गर्न पर्यटन प्रवद्र्धनका गतिविधि बढाउन उनले सुझाव दिए । ‘तीन देशलाई जोड्ने गरी सर्किट बनाएर प्रचार–प्रसार गरे नेपालमा पर्यटक बढाउन सकिन्छ,’ उनले भने, ‘कसरी प्याकेज बनाएर प्रचार–प्रसार गर्ने तीनै देशका व्यवसायी तथा सरोकारवालाहरु बसेर छलफल गर्न सकिन्छ ।’ गत वर्ष भएको भूकम्पका कारण नेपाल असुरक्षित छ भन्ने सन्देश पर्यटक माझ फैलिएकाले त्यो भ्रम चिर्न नेपालका व्यवसायीलाई चक्रवर्तीको सुझाव छ ।

सिक्किम टुरिजम अर्गनाइजेसनका अध्यक्ष ललित गुरुङले नेपाल महत्वपूर्ण पर्यटकीय गन्तव्य भएपनि गत वर्ष गएको भूकम्पका कारण पर्यटक अहिलेसम्म त्यसतर्फ जान डराएको बताए । ‘सिक्किम आएका बढी पर्यटक भुटान जाने गरेको पाएका छौं,’ उनले भने । सिक्किममा आएका पर्यटकलाई नेपाल जान आफूहरुले सिफारिस गर्ने गरेको उनले सुनाए । ‘नेपालमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसारलाई व्यापक बनाउन आवश्यक छ,’ उनले भने, ‘गत वर्ष गएको भूकम्पबाट डराएका पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउनु पर्छ ।’ दुवै देशका पर्यटन व्यवसायीलाई राहत हुनेगरी संयुक्त रुपमा पर्यटन प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनले बताए । पछिल्लो समय पर्यटकको आकर्षण बढेको भुटानलाई पनि प्याकेजमा समेट्न सकिने उनले बताए ।

२२ देखि २५ दिनको प्याकेज बनाएर नेपाल, भारत र भुटान जोड्ने गरी पर्यटकीय प्याकेज बनाउन सकिने सिक्किम एसोसिएसन अफ एडभेन्चर टुर अपरेटर्सका जेनेरल सेक्रेटरी डि।एन। प्रधानले बताए । ‘संयुक्त प्रवद्र्धन गरेर एउटै प्याकेजमा पर्यटकलाई घुमाउन सकिन्छ,’ उनले भने, ‘एउटै ब्रोसरमा प्रचार–प्रसार पनि हुन सक्छ ।’ सन् २००० तिर आफूहरुले यही प्रकारको प्याकेजमा पर्यटकलाई तीनवटै देश घुमाएको प्रधानले जानकारी दिए । ‘पछि नेपालमा द्वन्द्व बढेपछि तीनै देश जोड्ने गरी बनाइएको प्याकेज सफल हुन सकेन,’ उनले स्मरण गरे ।

यसैबीच, पर्यटन प्रवद्र्धनको अभियानसहित भारत पुगेका पोखराका व्यवसायीले सिक्किममा नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गरेको छ । सिक्किम आएका पर्यटकलाई नेपाल पठाउन पोखराका व्यवसायीले त्यहाँका पर्यटन व्यवसायीलाई आग्रहसमेत गरेका छन् । पर्यटकका लागि नेपाल सुरक्षित रहेको भारतीय पर्यटक र व्यवसायीलाई जानकारी गराइएको पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले जानकारी दिए । पोखरा पर्यटन परिषदको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा भारतका विभिन्न सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम भइरहेको छ ।

कमेन्टहरु
Loading...