चुनावले राज्यसत्ता परिवर्तन होइन कम्युनिष्टको रवैया रोकिन्छः निधि

पोखरा, २२ कात्तिक/ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उपनिर्वाचनले राज्यसत्ता परिवर्तन होइन, कम्युनिष्ट सरकारको रवैया रोकिने बताएका छन् । कम्युनिष्ट पार्टी र उसको सरकारलाई ठीक ठाउँमा ल्याउनका लागि कांग्रेसले यो उपनिर्वाचन जित्नैपर्ने उनले बताए ।

कास्की–२ मा उम्मेदवार मनोनयनपछि आयोजित सभामा नेता निधिले कम्युनिष्ट सरकारका पालामा भइरहेका अनियमितता, घुसखोरी, बलात्कार, महंगी, करको भार, राष्ट्रघाति कदमलाई रोक्न कांग्रेसले यो चुनाव जसरी पनि जित्न आवश्यक रहेको बताए ।

‘कांग्रेसले यो चुनावलाई टेष्ट केसको रुपमा लिएको छ’, उनले भने, ‘जुलुस गरेर मात्रै निर्वाचन जितिदैन । यस क्षेत्रका ७१ हजार मतदातालाई प्रत्यक्ष भेटेर कम्युनिष्ट र कांग्रेसको भिन्नता छुट्याउने गरी बुझाउन सक्नुपर्छ ।

नेता निधिले खेमराज पौडेलको उम्मेदवारीले देशैभर उत्साह छाएको र अब पार्टीभित्रका गटवन्दी र असन्तुष्टि पनि अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले कास्की–२ राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको नजर परेको भन्दै यो चुनाव कांग्रेसले जितेर सन्देश दिनुपर्ने खाँचो औंल्याए । उनले अबको काम र जिम्मेवारी भनेको जसरी पनि कांग्रेसलाई जिताउने हुनुपर्ने बताए ।

कांग्रेस नेता शुक्रराज शर्माले कांग्रेसले कास्कीको हकमा केन्द्रले विवेक पु¥याएर निर्णय गरेको बताए । नेपाली कांग्रेसमा अहिलेसम्म धेरै व्यक्तिले चुनाव लडेको बताउँदै उनले अहिलेको उम्मेदवारीले कांगे्रसले जित्ने दाबी गरे । युवालाई रोजगारी, व्यापारीको लगानीको रक्षा, विदेशमा भएकाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन नेपाली कांग्रेसले अहम् भूमिका रहने उनको भनाई थियो । उनले प्रजातन्त्रको सुरक्षाका लागि भएपाि नेपाली कांग्रेसलाई मत प्रदान गरि जिताउन उनले आग्रह गरे ।

कांग्रेसका केन्द्रिय सदस्य जीवन परियारले वर्तमान सरकार कसरी पैसा कमाउन सकिन्छ र कार्यकर्तालाई मोजमस्ती गराउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको आरोप लगाए ।
कांग्रेसका पूर्व महामन्त्री तारनाथ रानाभाटले देशलाई कम्युनिष्ट अधिनायकवाद बनाउने प्रयास भएको भन्दै त्यसको जवाफ कास्की क्षेत्र २ ले दिनुपर्ने बताए ।

कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापाले नेकपाले दमन भय त्रासको आधारमा निर्वाचनको तयारी गरेको आरोप लगाए । गुण्डा प्रयोग गरेर कांग्रेसलाई हराउनुपर्छ भन्नेहरूलाई जवाफ दिनुपर्ने बेला आएको उनले बताए । लोकतन्त्रको सवलीकरण र भ्रष्टाचार नियन्त्रणका लागि कांग्रे्रसले यो चुनाव जित्नुपर्ने स्पष्ट पारे ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कांग्रेसले किसान, सुकुम्बासी र डोकोमा तरकारी बेच्नेहरूको रक्षा गर्नका लागि निर्वाचन जित्न आवश्यक रहेको बताए । निरंकुश राजतन्त्र, निर्दलीय पञ्चायती व्यवस्था र कांग्रेसको १० वर्षे शासनकालमा नभएका भ्रष्टाचार ओली सरकारले २ वर्षमै गरेको भन्दै उनले सरकारका यस्ता ज्यादति विरुद्द खरो रुपमा उत्रने उनले निर्देशन दिए ।

उम्मेदवार खेमराज पौडेलले आफू निमित्त मात्रै भएको र सिपाहीको रुपमा काम गर्न तयार रहेको बताए । उनले कास्की क्षेत्र नं २ का समस्यासंग आफू ज्ञात रहेको स्पष्ट पार्दै यस क्षेत्रको विकासमा टेवा पु¥याउन सबैसंग लबिङ गर्ने क्षमता आफूमा भएको हुँदा अत्याधिक मत प्रदान गरि जिताउन आग्रह गरे ।

नेता देवराज चालिसेले अघिल्लो हारको बदला अहिले लिएरै छाड्ने उद्घोष गरे । ‘अघिल्लो पटक जनताले जिताएर पठाएका प्रतिनिधिले जनतालाई नै नराम्रोसंग धोका दिए । राष्ट्रमाथि गद्धारी गरे । उनका परिवारजनबाट धर्म संस्कृतिमाथि प्रहार गर्ने काम भयो’, उनले भने, ‘यो चुनाव जितेर कांग्रेसले जनताको घाउनमा मल्हम पट्टी लगाउन उद्धत छ ।’

कार्यक्रममा नेताहरू महादेव गुरुङ, कुमार खड्का, विन्दुकुमार थापा, विन्दा राना लगायतले बोलेका थिए । कांग्रेस कास्की–२ का सभापति माधव बाँस्तोला मधुको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव वर्षाकेशव पराजुलीले गरेका थिए ।

कमेन्टहरु
Loading...