कालीगण्डकी ‘ए’ जल विद्युत एक सातालाई बन्द

सागर राज तिमिल्सिना
पोखरा, ११ जेठ/स्याङ्जाको मिर्र्मीस्थित कालीगण्डकी ए जल विद्युत आयोजनामा समस्या देखिए पछि आज देखी मर्मतका लागि एक हप्ता विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको टनेलबाट पेनस्टक हुँदै टर्बाइनसम्म पानी पठाउने पाइपको गेटमा समस्या देखिएपछि उत्पादन बन्द गरि मर्मत सुरु गरेको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए ।

आयोजनाको पहिलो युनिट मर्मत गर्न एक साता उत्पादन बन्द गरिने पाण्डेले जानकारी दिए । उनले मंगलबार बिहान ७ बजेदेखि आयोजनाको उत्पादन पूर्ण रुपमा बन्द भएको जानकारी दिए । आयोजनाबाट बिहान सम्म करिब ९० मेगावाट विद्युत उत्पादन दिइरहेको उनले जानकारी दिए ।

एउटा युनिट मर्मत गर्न अरु पनि बन्द गर्नुपर्ने उनले बताए । १३–१४ वर्षदेखि चल्दै आएको उक्त भल्व पहिलो पटक मर्मत गर्न थालिएको उनको भनाई थियो । एक सय ४४ मेगावाट क्षमताको ’कालीगण्डकी ए’ जलविद्युत आयोजनाका तीनवटा युनिटबाट ४८ मेगावाटका दरले उत्पादन हुन्छ । आयोजनाबाट पूर्ण रुपमा विद्युत उत्पादन बन्द हुँदा लोडसेडिङ बढ्न सक्ने सम्भावना रहेको विद्युत प्राधिकरणले बताएको छ । लोडसेडिङको समय एक घन्टा तलमाथि हुन प्राधिकरणका कर्मचारीको भनाई छ ।

कमेन्टहरु
Loading...