कास्कीको वीरेठाँटीदेखी मुक्तिनाथ सम्म केवुलकारमा सरर ! (यस्तो बन्दैछ)

पोखरा, १९ असोज / प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि केवुलकार निर्माण गरिने तयारी भएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको

महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न कास्कीको वीरेठाँटीदेखी केबुलकार निमार्ण हुने भएको हो । ६ बर्षभित्र निर्माण सक्ने गरि कास्कीको

वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवुलकार निर्माण गर्न लागिएको हो । मुक्तिनाथ दर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु

गरेको छ । प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार

निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको बताए ।

लगानी बोर्डको हालै सम्पन्न ३० औं बैठकले कम्पनीलाई विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघिबढेको उनको भनाई छ । ‘अहिले

परियोजनासम्बन्धी इन्सेन्सन रिपोर्ट तयार हुने क्रममा रहेको छ’, उनले भने, ‘इन्सेन्सन रिपोर्ट तयार भएपछि एलाइमेन्ट फिक्स गर्ने काम हुन्छ ।

लाइडर सर्भेको काम सकिएपछि डीपीआर सर्भे हुन्छ ।’ अबको तीन वर्षमा यी प्रक्रिया पूरा गरेर आगामी २०८१ भित्र सेवा दिने लक्ष्य लिइएको प्रमुख

कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको

वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि

जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।

लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ । विश्वमा

अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि

त्यो सामान ढुवानीको लागि मात्रै प्रयोग हुने गरेकोे छ ।

मुक्तिनाथको दर्शन केवलकार परियोजना भने विशुद्ध पर्यटक ओसारपसारमा प्रयोग हुने छ । कम्पनीका अनुसार स्रोत जुटाएर काम गर्दा निर्माण उति

असहज नभए पनि मार्फा–कागबेनी खण्डमा भने तीव्र हावाचल्ने भएकाले केही कठीनाइ रहेको छ । करिब १५ किलोमिटरको यो खण्डमा दिउँसोको

समयमा ५० किलोमिटर प्रतिघण्टाको बेगले हावाचल्ने हुँदा यात्रुको सुरक्षाका लागि उच्च प्रविधि अपनाइने छ ।

‘तीव्र गतिको हावाबहने मार्फा–कागबेनी खण्डमा हामीले गोन्डला (बाकस) को सट्टा रेलको जस्तो डिब्बा वा अरू उच्च प्रविधि अपनाउँछौं । यात्रा पूर्णतः

सुरक्षित र भरपर्दो हुनेछ’, रोपवे इन्जिनियर ढकालले भने । अन्य स्थानमा भने गोण्डलाकै प्रयोग हुनेछ ।

कठिन भौगोलिक बनावटका कारण मुक्तिनाथ पुग्नका लागि यातायातका साधनसमेत महँगो पर्ने गरेकोमा यो परियोजना बनेसँगै आर्थिक रूपमा

पनि सस्तो पर्ने कम्पनीको विश्वास छ । केबरलकारले इन्धन बचत र पर्यावरणको संरक्षणमा समेत योगदान पुग्ने छ ।

मुक्तिनाथको दर्शन केबलकार परियोजना सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण हुनुका साथै समग्र देशलाई नै चिनाउन पनि सहयोग पुग्ने छ ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाले केबलकार निर्माणका लागि करिब ३८ करोड अमेरिकी डलर लाग्ने अनुमान

गरिएको  र त्यसका लागि विभिन्न अन्तर्रा्िष्ट्रय बैंकहरूसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।

आधा दर्जनका हाराहारीका विदेशी बैङ्क तथा कम्पनीले लगानीका लागि चासो देखाएको भन्दै आफूहरू यसबारे निर्णय लिने क्रममै रहेको कम्पनीले

जनाएको छ । नेपाली बैङ्कहरूको महँगो कर्जा र पर्याप्त ऋण पनि नपाइने अवस्था रहेकाले विकल्प खोजेको प्रमुख कार्यकारी अधिकृत सापकोटाकोे

भनाइ छ ।

निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता केबलकारले राख्ने बताइएको छ । कम्पनीका अनुसार ३ घण्टा १०

मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिनेछ ।

कमेन्टहरु
Loading...