कास्की पनि हात्तीपाईलेको खतरामा, पाचँ लाखलाई औषधि खुवाने लक्ष्य

गोकुल बानियाँ/पोखरा १७ माघ । हात्तीपाईले रोग बिरुद्धको अभियानको क्रममा यस बर्ष कास्कीमा झण्डै ५ लाखलाई औषधि खुवाईने भएको छ । पाचौ चरणको कार्यक्रम अन्तर्गत माघ २५, २६ र २७ गते कास्कीका ४ लाख ८४ हजार ६ सय १३ जनालाई औषधि खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । पोखरा उपमहानगरपालिका भित्र मात्रै २ लाख ७० हजार ४ सय २१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

अभियान ३ दिन चल्ने भएपनि कास्कीमा माघ २४ देखि २९ गते सम्म औषधि खुवाउने ब्यबस्था मिलाईएको जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद अधिकारीले जानकारी दिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार यो अभियानको लागि कास्कीमा २७ सय स्वयंसेवक र ३ सय ५० स्वास्थ्यकर्मी खटिने छन् । माघ २४ गते कास्कीका सबै बिद्यालयका बिद्यार्थीलाई एकसाथ औषधि खुवाउने कार्यक्रम तय गरिएको छ ।

हात्तीपाईले
हात्तीपाईले

कास्कीका सबै स्वास्थ्यसंस्थाको साथै टोलबिकास संस्था, वडा कार्यालय लगायत घरघरमै पुगी औषधि बितरण गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत बर्ष पोखरा उपमहानगरपालिकाको ३ वटा वडामा ९ जना हात्तीपाईलेको रोगी भेटिएका थिए । पोखरा सहित कास्की पनि हात्तीपाईलेको जोखिममा रहेकाले अनिबार्य औषधि सेवनको लागि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । यो बर्षको औषधि खुवाउने अभियान अन्तर्गत पहिलो चरणमा कास्की सहित ३१ जिल्ला र दोस्रो चरणमा फागुन १० देखि १२ सम्म ९ जिल्लामा औषधि बितरण गरिदैछ । नेपालमा कुल जनसंख्याको ९० प्रतिशत मानिस हात्तीपाईले रोगको जोखिममा छन् । कास्की पनि जोखिम क्षेत्रमा भएको उनले बताए । अघिल्लो वर्ष औषधी अभियान चलेकै बेलामा पोखरामा ९ जना हात्ती पाइलेका विरामी भेटिएका थिए ।

नेपालका ६१ जिल्लामा यसको संक्रमण देखिएको छ भने उच्च पहाडी र हिमाली १४ जिल्लामा संक्रमण नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सन् २००३ मा पर्साबाट सुरुभएको यो अभियान अन्तर्गत अहिलेसम्म १६ जिल्लामा छैटौ चरणको औषधि खुवाई सकिएको र संक्रमण भए÷नभएको अनुसन्धानको क्रममा रहेको बताईएको छ । सन् २०२० सम्म बिश्वबाट यो रोग उन्मुलन गर्ने लक्ष्य राखिएकोमा नेपालले सन् २०१८ सम्म हात्तीपाईले रोग निबारणको लक्ष्य राखेको छ ।

२ बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, कडा कुपोषण भएका ५ बर्ष मुनीका बालबालिकाले हात्तीपाईले बिरुद्धको औषधि सेवन गर्न नहुने चिकित्सकहरुले जनाएका छन् । हात्तीपाईले रोग लागिसकेपछि कुनै उपचार नभएपनि प्रारम्भिक लक्षण देखापरेको अबस्था र रोग लाग्नबाट बच्नको लागि औषधि अनिबार्य सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ । हात्तीपाईले रोग फैलनबाट रोक्नु र बिरामीको संख्यामा कमी ल्याउनुको साथै रोग लागिसकेकालाई अन्य दिर्घ रोग, असक्त, कुरुप हुनबाट बचाउन औषधि खुवाईदै आएको छ ।

हात्तीपाईले बिरुद्धको औषधि सेवन गरेका मध्य केहिलाई सामान्य असर देखिने भएपनि आत्तीनु नपर्ने चिकित्सकहरुले बताएका छन् । औषधि सेवन गरेपछि टाउको दुख्ने, ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, पेट दुख्ने भएपनि आत्तीनु नपर्ने चिकित्सकहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...