मुस्ताङमा लास काटेर गिद्धलाई खुवाउँदा खुसी

मुस्ताङ, १७ भदौ/मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा(चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङका इन्द्रधारा विष्ट बताउँछन् । शिव उप्रेतीले आजको अन्नपूर्णमा लेखेका छन्।

उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ । छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ । यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ ।

यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन् । कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनू भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’

शवको मासु खाएर गिद्धले डाँडाकाँडामा दिसा गरेपछि मरेको मान्छेको पनि वरत्रपरत्र राम्रो हुन्छ र कुलवंश पनि फैलिन्छ भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन् । गाड्नुलाई भने नराम्रो मानिन्छ । ‘कुनै डरलाग्दो सरुवारोग लागेर मरेको मान्छेलाई गाड्ने सुझाव लामागुरुले दिन्छन्’, दालमे गाउँपालिकाका प्रमुख राजु विष्टले भने ।

‘सरुवा रोगको महामारी वा घाउ खटिराले मरेकालाई कि गाड्ने कि काटेर कालीगण्डकीमा बगाउने चलन छ’, उनी भन्छन्, ‘गाड्दा लासको रोग अरूमा फैलन पाउँदैन । रोगी मान्छेलाई काट्दा अरूलाई पनि सर्छ । गिद्धलाई पनि सर्छ ।’ पानीमा बगाउने विकल्प पनि रोजाइमा नपर्ने उनी बताउँछन् । ‘पानीले रोगका कीटाणु नाश गर्छ भनेर सरुवा रोगले मरेकालाई चोक्टा चोक्टा बनाएर पानीमा बगाउने विकल्प पनि दिन्छन्’, उनी भन्छन् ।

उनका अनुसार पहिलो प्राथमिकता काटेर गिद्धलाई खुवाउनु, दोस्रो रोजाइको विकल्प जलाउनु, तेस्रो विकल्प काटेर पानीमा बगाउनु र चौथो प्राथमिकता गाड्नुलाई दिने गर्छन् ।लास कुहिने, किरा लाग्ने भएकाले गाड्ने चलनलाई नराम्रो मान्ने धार्मिक विश्वास रहेको स्थानीय शिक्षक धु्रव बराल बताउँछन्।

गिद्धलाई खुवाउनुलाई भने सबैले राम्रो मान्ने लोमान्थाङ गाउँपालिकाका प्रमुख विष्टको भनाइ छ । ‘चराको आहारा हुन पाउँदा मरेपछि पनि सदुपयोग भयो भन्ने धार्मिक विश्वास छ’, उनी भन्छन्, ‘यो विकल्पले चराको संरक्षण पनि हुने भएकाले यो विकल्पलाई सबैले रोज्छन् ।’ जलाउनका लागि उपल्लो मुस्ताङमा दाउरा अभाव हुने उनको भनाइ छ । केही वर्षअघि गिद्ध लोप हुँदै गएको थियो । तर, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)ले गिद्ध संरक्षण अभियान चलाएपछि गिद्ध फेरि पर्याप्त हुन थालेको स्थानीय बताउँछन् ।

दालमे गाउँपालिकाका प्रमुख विष्टका अनुसार जलाएर अन्त्येष्टि गर्नु दोस्रो रोजाइको विकल्प हो । ‘वैशाखदेखि असोजसम्म मर्ने मान्छेलाई प्रायः काटेर गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने चलन छ’, उनी भन्छन् ‘जलाउनका लागि यो क्षेत्रमा दाउराको अभाव छ । जलाउँदा वातावरण बिग्रने, अनावृष्टि हुने डर पनि हुन्छ । त्यसैले लामागुरुले जलाउने विकल्प पनि कम दिन्छन् ।’लास खोलामा फाल्दा पानी प्रदूषित हुने हुनाले पनि गिद्धलाई खुवाउने चलन रोज्ने गरिएको शिक्षक बराल बताउँछन् ।

‘लास काटेर बगाउँदा जलचरले खाने, जताततै फैलिने भएकाले यो चलनलाई राम्रो पनि मान्छन्’, २५ वर्षदेखि मुस्ताङको विद्यालयमा पढाइरहेका शिक्षक बराल भन्छन्, ‘गाड्दाखेरि कुहिने, सड्ने, किरा लाग्ने भएकाले यो विकल्पचाहिँ त्यति राम्रो मान्दैनन् ।’

मान्छे मरेपछि खोला किनारमा लगेर मसिनो टुक्रा पारेर काट्छन् । लामाले मन्त्र पढेर गिद्धलाई बोलाउँछन् र खुवाउँछन् । लास काट्नुअघि दुईदिनसम्म नदीको बगरमा गाडेर राख्ने चलन छ । यसो गर्दा दाहसंस्कार गर्नेलाई मर्ने मान्छेको रोगव्याधी सर्दैन भन्ने विश्वास छ ।

‘लामागुरुले शंख फुकेर अनेक मन्त्र पढेर गिद्धलाई खोला किनारमा बोलाउँछन्’, दाहसंस्कारका प्रत्यक्षदर्शी शिक्षक बराल भन्छन्, ‘लामाले बोलाएपछि गिद्ध पनि हुरुरु आउँछन् ।’ गिद्ध आएपछि मासु र हाडलाई धुलो बनाएर पिठो र रगतमा मुछेर खुवाउने चलन छ ।हाड नाताले हाड नफोर्नू, रगतको नाताले मासु नकाट्नू

कमेन्टहरु
Loading...