सागका लागि फेवातालको पानीको ल्याब टेष्ट

पोखरा, ८ मंसिर/ फेवातालको पानी ८ महिना अघिको भन्दा केही सफा भएको रिपोर्टले देखाएको छ । आगामी मंसिर १५ गतेदेखि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा ट्रयाथोलन हुदैै छ ।

त्यही ट्रायथोलनको लागि कास्की जिल्ला ट्रायथोलन संघले तालको पानीको गुणस्तर परीक्षण गर्ने क्रममा ८ महिना अघिको भन्दा सफा रहेको रिपोर्टले पुष्टि गरेको छ । पानी सफा भएपनि पिउन योग्य भने छैन् ।

‘पानी सफा छ, तर पिउन योग्य भने छैन, हुदैन्’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका प्राविधिक सुनिल चौधरीले भने–‘पौडिन मिल्ने नमिल्ने हामीले भन्न सक्दैनौ, तर हामीले केवल पिउन मिल्छ कि मिल्दैन भन्ने प्रपोजले मात्रै हेर्छौ ।’ गतवर्ष वैशाखको पहिलो साता परीक्षण गर्दा फेवातालको पानी निकै नै फोहर रहेको पाइएको थियो । तर यो पटक पानी सफा भएको प्रयोगशालाको परीक्षणले पुष्टि गरेको प्राविधिकको भनाई छ ।

तालको पानी बगिरहन्छ । आज एउटा रिपोर्ट आउँदा भोलि अर्को रिपोर्ट आउन सक्ने उनको भनाई थियो । यद्यपी तालको सोमबार गरिएको परीक्षणको रिपोर्ट अनुसार इ–कोली भने निल छ । ‘इ–कोली निल छ । तर कोलि कोलिफर्म भने ०७ छ ।’ उनले भने–‘पिउन योग्यको लागि इ–कोली र कोलिफर्म हुनुहुदैन् । त्यसबाहेक शुक्ष्म रुपमा परीक्षण गर्नुपर्छ ।’ उनका अनुसार एउटा मात्रै देखिएपनि पिउनको लागि योग्य हुदैन् ।

प्राविधिका अनुसार पानीको स्याम्पल एउटा मात्रै ल्याइएको थियो । ताल किनारबाट १ सय मिटर पर तीन फिट गहिराईको पानी परीक्षण गरिएको कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले बताए । ‘पानी विगत भन्दा सफा रहेको रिपोर्ट आएको छ’ उनले भने–‘इ–कोली निल हुनु नै त्यसको प्रमाण हो ।’ तालको पानीको औसत तापक्रम २२.२ डिग्री सेल्सियस छ ।

तापक्रम अनुसार ताला पौडिन सकिने अवस्था छ । एकसातापछि आयोजना हुने ट्रायथोलनको लागि पानीमा देखिएको सफापनले उत्साह थपेको छ । पानीकै कारण ट्रायथोलन नै नहुने हो कि भन्ने चिन्ता संघको थियो । ‘पानीमा धमिलो मात्रा पनि कम छ ।’ उनले भने–‘पानीमा ५–१० मिलिग्राम प्रतिलिटर धमिलोपनलाई औषत मानिने मानिन्छ । तर ५ मिलिग्राम प्रतिलिटर भन्दा कम छ ।’

प्राविधिक चौधरीका अनुसार पानीमा घुलित पदार्थ पनि भेटिने गरेको छ । ‘वर्षदिन अघिको परीक्षणमा तालको पानीमा एमोनियाको मात्रा ०.५ मिलिग्राम प्रतिलिटर देखिएको थियो । गत बैशाखमा साउथ एशियन च्याम्पियनसिप आयोजना गरिदाँ गरिएको परीक्षणमा ०.०३ मिलिग्राम प्रतिलिटरमा झरेको हो । अहिले परीक्षण गर्ने क्रममा पानीमा एमोनियाको मात्रा ०.१ मिलिग्राम प्रतिलिटर रहेको रिपोर्टमा उल्लेख छ ।

लेकसाइडका कतिपय पर्यटन व्यावसायीले भने तालको सिधै पानी तानेर उपयोग गर्दै आएपनि त्यो पानी शुद्धिकरण नगरी उपयोग गर्न नमिल्ने प्राविधिकको बताउँदै आएका छन् । ट्रायथोलनमा दौड, पौडी र साइक्लिङ प्रतियोगिता हुन्छ । पौडी प्रतियोगिता फेवातालमा हुने गरेको छ । त्यही प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको सम्बन्धीत संस्था कास्की जिल्ला ट्रायथोलन संघले यो पटक पनि तालको पानी परीक्षण गरेको हो ।

तालको पानी सफा हुनु पर्ने भएपनि ठाउँठाउँबाट मिलिएको ढल र नालाले प्रदुषण बनाईरहेको छ । बेलाबेला ताल सफा गर्दा यो पटक पानी पनि केही शुद्ध भएको हुनसक्ने ट्रायथोलन संघले जनाएको छ । ‘ताल केन्द्रीत रहेर आसपासका क्षेत्रमा सफा गरेकोले पनि प्रदुषण घटेको हुनसक्छ,’ संघका अध्यक्ष देवकोटाले भने, ‘बढी फोहर हुने ठाउँको फोहोर निकालिएको छ । ताल जोगाउनेतर्फ पनि केही सचेतना पनि बढेको हुनसक्छ ।’

गएको असोजसम्म पनि तालको पानी जलकुम्भीसहित धमिलो थियो । ट्रायथोलनको लागि सबैभन्दा महत्वपूर्ण पौडिने पानीको गुणस्तरीयता नै महत्वपूर्ण रुपमा लिईने गरिन्छ । विश्व ट्रायथोलन महासंघले पानी गुणस्तर नभएको ठाउँमा प्रतियोगिता आयोजना नै हुदैन् । नियमित रुपमा पानीको परीक्षण गरेपछि मात्रै ट्रायथोलनको लागि योग्य ठहर्छ ।

बसुन्धरा पार्कको विचसाईडबाट पौडी शुरु हुन्छ । ७५० मिटर पौडिएपछि २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर रनिङ गर्दै प्रतिस्पर्धीले टुग्याउँने छन् । हिमागृहबाट शुरु हुने साईक्लिङको लागि शहीदचोक–मुस्ताङचोक–विरौटाचोक–ड्यामसाईड हुदैं पुन हिमागृहसम्म आईपुग्ने छन् । रनिङको लागि मुस्ताङचोक पुगेर फर्किने छन् ।

द्ववाथोलनमा समेत प्रतिस्पर्धा हुने छ । प्रतियोगिता ३ दिन चल्ने छ । गत बैशाखमा आयोजना गरिएको एशियन ट्रायथोलन च्याम्पियनसिपमा पहिलो पटक पोखरामा डोपिङ टेष्टको लागि खेलाडीको पिसाबको स्याम्पल संकलन गरिएको थियो ।

कमेन्टहरु
Loading...