डेंगु रोग विरुद्ध युवा पत्रकार सञ्जालको सचेतना ¥याली

पोखरा, १८ कात्तिक/ पोखरामा आईतबार डेंगु रोग विरुद्ध सचेतना ¥याली सम्पन्न भएको छ । युवा पत्रकार सञ्जाल, गण्डकीले आयोजना गरेको र्यालीमा लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगको विषयमा सचेतना गराईएको थियो ।

चिप्लेढुङ्गा मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सांसद, नेता,सरकारी कर्मचारी, स्वास्थ्य कर्मी, व्यावसायी , कलाकार, पत्रकार, प्रहरी, नागरिक समाज, आमा समूह लगायतको उपस्थिति देखिन्थ्यो ।

आयोजित कोणसभा कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा ९ का अध्यक्ष रामराज लामिछानेले युवा पत्रकार सञ्जालको कामले आशाको किरण पलाएको बताए । ‘सञ्जालको यस्तो प्रकारको कार्यले आशाको किरण पलाएको छ, उनले भने, वडा कार्यलय पनि काँधमा काँध दिएर अगाडी बढने प्रतिबद्धता गर्छौ ।’

डेंगु रोग सरसफाईको अभावका कारण लाग्ने हुँदा सरसफाईमा ध्यान दिन उनले आग्रह गरे । पोखराको वडा नं. ८ र ९ मा यो रोग बढि फैलिएको हँुदा वातावरणीय सरसफाईका अभियानका कार्यक्रम सञ्चालन गरि डेंगुरोग बाट बच्न वडाले पनि स्वास्थ जनचेतना सम्बन्धी कार्यलाई तिव्र पारिएको उनको भनाई थियो ।

वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरामा सुरुमा २ जना व्यत्तिहरुमा देखिएको डेंगु रोग अहिले सिंगो पोखराको समस्याको रुपमा रहेको बताए । ‘विशेष गरि यो रोगले वडा ८ र ९ लाई बढि प्रभावित पारेको छ,उनले भने, विषेशगरि सवारी साधनका टायरमा पानी जम्मा हुने र लामखुट्टे लाग्ने हुँदा यस्तो समस्या देखिएको हो ।’

बरालले पनि घरघरमा सरसफाई राख्न र खाल्डाखुल्डीमा पानी जम्न नदिन नागरिकलाई अनुरोध गरे । सामाजिक परिवर्तन र रुपान्तरणका लागि युवा पत्रकार सञ्जालले गरेको काम सह्रानिय भएको भन्दै आफ्नो वडाले पनि सक्दो सहयोग गर्ने उनको भनाई थियो ।  कार्यक्रममा डेंगु रोगका विषयमा बोल्दै स्वास्थ्य कार्यलय कास्कीका भेक्ट्रल कन्ट्रोल निरिक्षक यम बरालले सुन्दर नगरी पोखरामा रोगहरुले एकपछि अर्को आक्रमक गरिरहेको बताए ।

अहिले फेरि डेंगु रोग आएको छ । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्ने उत्तम उपाय भनेकै सरसफाईनै हो । लामखुट्टेको नियन्त्रण गर्न सकियो भने मात्र यो रोगबाट बच्न सक्छौ, उनले भने । उनका अनुसार अहिले कास्कीमा १०९ जना भन्दा बढि यो रोगबाट ग्रसित छन् । दैनिक १० देखि २० जना बिरामीलाई डेंगु रोग लागेको तथ्याङ्क छ ।

यो रोग लाग्दा जाडो हुदैं उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु वेस्सरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, गिजा वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने, ज्वरो आएको केहि समयपछि प्रशस्त पसिना आएर रक्त चाप घट्न सक्ने आदि लक्षणहरु डेंगु रहेको बरालले बताए ।

यो रोगको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास समेत नभएको हुँदा समयामानै अस्पतालमा गई लाक्षणिक उपाचार गर्न उनले सुझाए । आफुखुसी अथवा चिकित्सकको सल्लाह विना कुनै औषधी प्रयोग नर्गन उनको अनुरोध थियो । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बरालले युवा पत्रकार सञ्जाल गण्डकीले गरेको कार्य सह्रानिय रहेको बताए ।

सञ्जालले गरेको यस्तो कार्यले राज्य, सरकारलाई समेत सहयोग पुगेको अनुभुति आफुले गरेको बताए । हामीले धेरै सञ्जालहरु देखेका छौ । बुझेका छौ । केबल चर्चामा आउने उद्देश्यका साथ सञ्जालको स्थापना गर्ने । सुरुमा केहि काम गरे जस्तो देखाउने अनि पछि विस्थापित भएर जाने प्रवृति जुन छ । त्यो बाट युवा पत्रकार सञ्जाल धेरै पर रहेको विश्वास मैले गरेको छु, उनले भने ।

सकरात्मक अभियानलाई सधैं निरन्तरता दिएर अगाडी बढ्न उनले सञ्जाललाई शुभकामना दिए । छोटो समयमा सञ्जालले गरेको काम प्रति अहिले प्रदेश सरकारको समेत ध्यान पुग्न गएको उनको भनाई थियो । हामी पनि तपाईहरुसँग सहकार्य गर्न तयार छौ, उनले भने । युवा पत्रकार सञ्जालका अध्यक्ष भीम थापाले सञ्जालको स्थापना चर्चा कमाउनलाई नगरेको बताए ।

समाजमा भएका विकृति विसंगती प्रति कलम सँगसँगै आफै पनि फिल्डमा आएर काम गरेर देखाउने अभिप्रायले स्थापना गरिएको उनको भनाई थियो ।
उपाध्यक्ष सुशान्त गाहा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुरेश अधिकारीले गरेका थिए ।

डेगु राेग

Posted by Ganthan.com on Saturday, November 3, 2018

कमेन्टहरु
Loading...