कालो धनतिर सरकारको आँखा

पोखरा,२५ पुस । सम्पति शुद्धिकरण विभागका महानिर्देशक चुडामणि शर्माले गैर कानूनी तवरले कालो धन कमाउनेहरुलाई नछाडिने बताएका छन् । उनले कालो धन आर्जन गर्नेहरुलाई सम्पति शुद्धिकरण गर्न आग्रह गर्दै कालो धन शुद्धिकरणको लागि विभागको स्थापना भएको प्रष्ट पारेका छन् । विभागले पोखरा उद्योग बाणिज्य संघसँगको सहकार्यमा बुधबार पोखरामा आयोजना गरेको सम्पति शुद्धिकरण सम्बन्धी गोष्ठीमा उनले गैर कानूनी तवरले सम्पति आर्जन नगर्न ब्यवसायीहरुलाई आग्रह पनि गरे ।

सम्पति शुद्धिकरण विभागका गतिविधीबारे जानकारी दिन, करदाताको कुरा सुन्न तथा उनीहरुलाई आचरण सुधारको लागि आग्रह गर्न गोष्ठी आयोजना भएको हो । कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले कालो धन आर्जन गर्नेहरुका कारण देशबाट पूँजी पलायन भएकोले सम्पति शुद्धिकरण जरुरी भएको बताए । उनले सम्पति शुद्धिकरणको लागि आकर्षक योजना ल्याउन र करदाता शिक्षालाई ब्यापक बनाउन विभागसँग आग्रह गरे ।

सम्पति शुद्धिकरण विभागका उपमहानिर्देशक अर्जुनख पोखरेलले कानूनको पालना गर्न आग्रह गर्दै ब्यवसायीहरुसँग मिलेर नै विभागले आफ्ना गतिविधी अगाडि बढाउने बताए । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत जगदिश्वर उपाध्यायले गण्डकी र धौलागिरी अञ्चलमा ४८ हजार करदाता भएको जानकारी दिए । पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव नारायण कोइरालाले गरेका थिए । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु,पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...