दशकमै फेवातालको क्षेत्रफल कसरी आधाभन्दा कम भयो ?

विजय अधिकारी

पोखराको दक्षिणी पश्चिम दिशामा अवस्थित फेवाताल नेपालको एक प्रमुख गन्तव्य हो। विसं १९९० को नापी

अनुसार १० वर्ग किमि क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ४.४३ वर्ग किमि क्षेत्रफलमा साँघुरीएको छ।

विभिन्न अनुसन्धानका अनुसार फेवाताल २०१३ सालसम्म पनि १० वर्ग किमी नै कायम रहेको पाइन्छ।

त्यसपछि ३२ सालको नापीअनुसार तालको क्षेत्रफल खुम्चिएर ५.८ वर्ग किमि पुगेको देखिन्छ । अहिले

चलन्चल्तिमा रहेको ४.४३ वर्ग किमि क्षेत्रफल वि सं २०५३/५४ देखिको हो। तर अहिले विभिन्न माध्यममर्फत

क्षेत्रफल मापन गर्ने हो भने अझै कम मापन हुन्छ। करिब ४ दशकमै फेवातालको क्षेत्रफल कसरी आधाभन्दा

कम भयो ? यसमा भूक्षय , बाढीपहिरो , राजनैतिक दाउपेच, व्यक्तिगत स्वार्थ, अख्तियारको दुरुपयोग, बाँध

फुट्नु आदि कारण रहेका छन्। वर्षेनि १ लाख ४२ हजार मेट्रीक टन भन्दा बढी थिग्रेनी फेवातालसम्म आइपुग्छ।

यदी यही अवस्था रहिरहेमा फेवातालको आयु १०० वर्ष भन्दा कम भएको विभिन्न अनुसन्धान मार्फत देखिन्छ।

तर अब इतिहासका कुरालाई सम्झेर धिक्कार्नुभन्दा अहिले कायम क्षेत्रफल कतिसम्म बढाउन सकिन्छ र

यहाँभन्दा घट्न कसरी नदिने कुरामा ध्यान दिनु नै बुद्धिमानी हुनेछ। यसकै दौरानमा विभिन्न अनुसन्धान

मार्फत निम्नलिखित तरिकाहरु तालको संरक्षणका निम्ति सुझाइन्छ।

१ हर्पन खोला एकत्रित पार्ने

हर्पनखोलाको सतहबाट उपल्लो जमिनको सतह केबल १/२ मिटरको उचाइमा मात्रै अवस्थीत छ। त्यसैले

खोलामा पानीको वहाव बढ्दा साथै खोलाघर छिचोलेर पानी माथी खेतसम्मै आउँछ र धानखेतीका साथसाथै केही

वस्तीहरु समेत डुबानमा पर्दै आएका छन्। यसबाट रोकेन र भूक्षय रोक्नका लागि कम्तिमा पनि पामेबाट

हर्पनखोलालाई निश्चित बाटो दिई फेवातालसम्म ल्याइपुर्याउनु पर्छ।

२ सिल्ट ट्याङ्क निर्माण

हर्पनखोलाबाट सिधै तालमा गएर जम्मा हुने पाँगोमाटो र बालुवालाई तालसम्म नपुग्दै कुनै निश्चित ठाउँमा

जम्मा गरिनुपर्छ । त्यसका लागि फेवातालसंगै जोडिनेगरी पश्चिम दिशामा दुई सिल्ट ट्याङ्क

(Sedimentation pool) निर्माणको आवश्यकता छ। यसो गर्दा फेवातालको गुमेको केही भाग फेवातालले नै

फिर्ता पाउँछ र थिग्रेनी सिधै फेवातालमा जानबाट रोक्छ। यी ठुला पोखरीहरुलाई निश्चित समयमा आवस्यकता

अनुसार सफा गरेमा फेवातालको आयु घट्ने छैन। सिल्ट ट्याङ्कको क्षेत्रफल र सङ्ख्या सरकारी निकायबाट

जमिन उपलब्ध भएअनुसार परिवर्तन गर्न सकिन्छ।

३ चेकड्याम र सेडिमेन्टेसन् ड्याम

पोलेमनपा १८ खपौदी र पोलेमनपा २२ लामडाँडा पुर्व रहेका ठाडा खहरे खोलाहरुको व्यवस्थापनका निम्ति

चेकड्याम र सेडिमेन्टेसन ड्याम निर्माण आवश्यक छ। चेकड्यामले पानीको गति कम गर्नुको साथै ठुला थिग्रेनी

रोक्ने काम गर्छ। सोही चेकड्यामको ठिक तल खोलाघरलाई निस्चित लम्बाईसम्म (५०मि भन्दा माथी, भुबनोट

अनुसार) केही फराकिलो र केही गहिरो हुनेगरी बनाइने सेडिमेन्टेसन ड्यामले साना थीग्रेनी फेवातालमा जानबाट

रोक्छ। यस्ता ड्याम बर्सेनि सफा गर्नुपर्छ ।यसका अतिरिक्त हर्पनखोला र हर्पनखोलामा मिसिने अन्य

खोलाहरुमा समेत पानीको गति कम गर्नका लागि चेकड्याम निर्माण गर्नुपर्छ।

४ पानी शुद्धीकरण

पुरिनुका साथसाथै प्रदुषणको चपेटामा समेत परेको छ फेवाताल। शहरी क्षेत्रबाट सिधै फेवातालमा पस्ने आकाशे

पानी लगायतको ढललाई एकै ठाउँमा जम्मा गर्दै शुद्धीकरण गरेर मात्र फेवातालमा मिसाउनुपर्छ।

५ बायो इन्जिनियरिङ

फेवाताल पुरिँदै जानुको कारण भुक्षय र बाढीपहिरो हो। हामी तालमै सिमित भएर संरक्षण गर्न खोज्नु मुर्खता हो।

त्यसैले फेवातालको जलाधार क्षेत्रको भूबनोट अनुसारको संरक्षण गर्नु आवश्यक छ।त्यसैले वृक्षरोपणका नाममा

ठुलाठुला रुख अव्यवस्थित रुपमा रोप्नुको साटो त्यहाँको माटो सुहाउँदो परिस्कृत सिंढिदार खेती प्रणाली ,

जैविक बार, बाटलिङ, जैविक चेकडयाम, बाँस रोप्नेजस्ता बायोइन्जिनियरिङ प्रविधि अपनाउन सकिन्छ ।

६ व्यवस्थित सडक

प्राविधिकको सल्लाह बिना अस्तव्यस्त रुपमा सडक निर्माण गर्ने परम्परा समग्र देशकै चिन्ताको विषय हो।

त्यस्तै फेवातालको जलाधार क्षेत्रपनी यसबाट जोगिन सकेन। जसका कारण फेवातालमा आउने थिग्रेनीको मात्रा

वर्षैपिच्छे बढ्दै गएको छ। फेवातालको सबैभन्दा नजिक रहेको ‘पामे बैदाम’ मोटरबाटोको त झनै विवादित

इतिहास छ। जसलाई अब बन्द गर्नु त असंभव नै छ। तर बाटो कालोपत्रे गर्ने, आवश्यक ढलको व्यवस्था साथै

अस्थिर भिर भएको ठाउँमा रिटेनिङ बाल (Retaining wall), क्याच ड्रेन आदिको निर्माण गरेर मोटरबाटो

व्यवस्थित बनाउनुपर्छ । यसका अतिरिक्त जथाभावी बाटो निर्माण रोक्नुका साथै भएका अन्य शाखा बाटोलाई

पनि व्यवस्थित गर्नुपर्छ।

पर्यटन प्रबर्द्धनको पाटो

यदि उपरोक्त बुँदाअनुरुप ताल संरक्षण गरिएको खण्डमा निम्नलिखित कुराहरुमा ध्यान दिनसके पर्यटन व्यवसायलाई थप टेवा पुग्छ।

– ताल र दुई सिल्ट ट्याङ्कको बिचमा अत्याधुनिक स्मार्ट पार्क निर्माण ,

-माछापुच्छ्रे हिमाल र तालको धेरै भाग देखिने गरी अत्याधुनिक भ्यु टावरको निर्माण ,

– खपौदी-लामडाँडा-मार्गी-हर्पनखोला-पामे-चंखपुर पैदलमार्ग तथा साइकल मार्गको निर्माण,

-बैदाम-पामे मोटरबाटो साइकल लेनसहित व्यवस्थीत गर्ने। फेवातालकै नारा लिएर कतिले चुनाव जिते, कति

NGO INGO सप्रीए, कति रातारात करोडपती भए लेखाजोखा छैन; अबको समय लेखाजोखा गर्ने बेला पनि

होइन। ताल संरक्षणका निम्ति तत्काल आवश्यक कदम चाल्नु नै बुद्दिमत्तापुर्ण निर्णय हुनेछ। नत्र भावी

पुस्तालाई ताल थियो भन्ने किंवदन्ती जस्तै हुन्छ जस्तो अहिले हामिलाई अहिलेओ भन्दा ताल दुइगुणाभन्दा

बढी थियो अरे भन्दा हुन्छ। यदि सम्बन्धित निकायले चाहेमा फेवाताल संरक्षण संभव छ; केबल इच्छाशक्ति र

लगनशीलताको अभाव खड्किरहेको छ।

कमेन्टहरु
Loading...