स्व. रवीन्द्रको सपना साकार पार्ने अभियानमा विद्या (यस्तो छ राजनीतिक सक्रियता)

यादब देवकोटा
पोखरा, २२ कात्तिक /२०७५ फागुन १५ गतेअघिसम्म विद्या भट्टराईलाई राजनीतिक नेता र उहाँका समकक्षी बाहेक अन्यले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । हुन पनि उहाँ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्थ्यो ।

राजनीतिमा टाढा रहेर त्रिविमा प्राध्यापन पेशमा सक्रिय हुनुहुन्थ्यो । आफ्ना पति मन्त्री भए पनि उहाँले आफ्नो काम छोड्नुभएन । कहिल्यै पतिको हैसियतको उन्माद देखाउनुभएन ।

एउटी अशल बुहारी, जीवनयात्रा रुपी रथको मजबुत पाङ्ग्रा, देवर–देवरानीहरुका स्नेही भाउजु अनि छोराहरुको ममतामयी माताका साथमा विद्यार्थीहरुका पृय अध्यापकका रुपमा उहाँले आफूलाई उभ्याइरहनुभयो, सामाजिक काममा सक्रिय भैरहनुभयो, आफ्नो ज्ञान र क्षमता देशभित्र र बाहिर बाँडिरहनुभयो ।

एउटी गृहिणी, सामाजिक अभियन्ता अनि अध्यापकका रुपमा सरल जीवनयापनका क्रममा अचानक देशको ढुकढुकी बनिरहेका, विकास र समृद्धिको अभियान छेडिरहेका, जस्तासुकै विवाद र आरोपहरुको डटेर सामना गर्दै आफ्नो लक्ष्यमा निरन्तर लम्किरहेका जीवनसाथी रवीन्द्रको कार्यक्षेत्रमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उहाँले चाल्नुभएको राजनीतिक अभियान र विकास तथा समृद्धिको यात्रालाई निरन्तरता दिने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यालाई दिएको छ ।

धेरैलाई लाग्नसक्छ विद्यालाई पतिको मृत्युपछि सहानुभूतिको भोट बटुल्न नेकपाले उम्मेदवार बनायो । तर यो पूर्णतः गलत हो । यदि त्यसो हुन्थ्यो भने उहाँको नाम कास्कीबाट एकल रुपमा सिफारिश हुने थिएन । उहाँको राजनीतिक यात्रा र उहाँले गर्नुभएको त्यागको कदर गर्दै पार्टीले उम्मेदवार बनाएको हो ।

स्व. रवीन्द्र अधिकारीको विकास प्रेम, समृद्धिको खाका र उहाँले मुलुकको समृद्धिका लागि हिंड्नुभएको अविचलित यात्रालाई पछ्याउने सबभन्दा उपयुक्त पात्र विद्या नै भएकाले नै पार्टीले उम्मेदवार बनाएको हो र यो तमाम कास्केलीको भावना पनि थियो । राजनीतिक रुपमा प्रतिस्पर्धा एउटा महत्वपूर्ण पाटो त छँदैछ तर विद्याको राजनीतिक चेत, उहाँको संघर्ष, उहाँमा रहेको ज्ञान अनि सरल जीवनशैलीले जो कोही प्रभावित हुन्छन् । विपक्षीले पनि सम्मान गर्ने छवी उहाको छ ।

२०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मनुभएकी विद्या १२ वर्षको कलिलो उमेरमै राजनीतिमा होमिनुभएको थियो । विद्यार्थी राजनीतिमा उचाई चढ्दै गर्दा रवीन्द्र अधिकारीसंग विवाह गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिएर घर–परिवारको जिम्मा लिंदै रवीन्द्रको राजनीतिक यात्रालाई सहज बनाइदिनुभयो उहाँले ।

आफ्ना पति रवीन्द्रको अकल्पनीय निधनपछि उहाँले आफूलाई राजनीतिमा सक्रिय बनाउनेबारे कुनै चासो राख्नुभएको थिएन । उहाँमा पदको आकांक्षा पनि थिएन र कसैले निर्वाचनका कुरा गरे आफूले केही निर्णय नगरेको बताउँदै आउनुभएको थियो । तर देशको विकास र समृद्धिका लागि आफ्ना पति स्व. रवीन्द्र अधिकारले साँच्नुभएका सपना, बनाउनुभएका योजनाहरुलाई मूर्तरुप दिन ‘रवीन्द्र अधिकारी फाउण्डेशन’को अध्यक्ष बनेर समाज विकासको यात्रामा सघाउने घोषणा गर्नुभएको थियो ।

राजनीतिक सक्रियता

विद्यालय जीवनमा १२ वर्षको उमेरमै सक्रिय राजनीतिक कार्यक्रम र आन्दोलनमा सहभागी हुनुभएकी विद्या २०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफ वक्तृत्वकला र वृक्षारोपण आदिमा सक्रिय हुनुहुन्थ्यो ।

२०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रमहरुमा विभिन्न स्कुलहरुमा विद्यार्थीलाई संगठित गर्ने अभियानमा लाग्दै आफ्नो राजनीतिक चेतलाई निखार्नुभएकी उहाँले २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटिमा आबद्ध हुदै सक्रिय रुपमा सहभागी हुनुभयो ।

२०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उहाँले काठमाडौंका विभिन्न ठाउँहरुमा महिलालाई संगठित गर्न सक्रिय हुनुभयो । सोही साल जनसांस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले)को संगठित सदस्य बन्नुभयो ।

विद्या भट्टराईले उम्मेदवारी दर्ता
विद्या भट्टराईले उम्मेदवारी दर्ता

२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेर नेकपा (एमाले) वडा कमिटी सदस्य बन्नुभएको थियो । २०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिनुभयो भने २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा सक्रिय हुनुभयो ।

महिला र विद्यार्थी मोर्चामा सक्रिय रहँदाकै अवस्थामा उहाँ २०५५ मा अनेरास्ववियुको केन्द्रिय सचिव बन्नुभयो । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्य बन्न सफल हुनुभयो ।

२०५६ साल असार २६ गते उहाँले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग जनवादी विवाह गर्नुभयो । त्यसपछि उहाँको जीवनले अर्को मोड लियो । सक्रिय राजनीतिबाट थोरै विश्राम लिएर परिवार, अध्ययन र अध्यापन पेशामा सक्रिय हुनुभयो । २०५८ मा कास्कीको पृथ्वी नारायण क्याम्पस, पोखराबाट प्राध्यापन पेशा सुरु गर्नुभयो ।

२०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापन पेशा सुरु गर्दै विभिन्न अध्ययन र अनुसन्धानका कामहरुमा सहभागी हुनुभएकी उहाँले महिला विरुद्ध हुने घरेलु हिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, अन्तर्राष्ट्रिय महिला महासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यशालाहरुमा कार्यपत्र पेश गरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न सफल हुनुभयो ।

विद्या भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी भएर मात्र हैन यो देशलाई आवश्यक पर्ने एउटा जनप्रतिनिधिमा हुनुपर्ने सबै क्षमता भएर नै उम्मेदवार बनाएको हो भन्नेमा कसैले विमती नराख्दा हुन्छ । उहाँको ज्ञान, क्षमता र कार्यशैली अनि नेतृत्व गर्नसक्ने क्षमता र जनतामा भिजेर काम गर्ने कुशलताले नै उहाँलाई यो जिम्मेवारी दिएको हो ।

उहाँको राजनीतिक पृष्ठभूमिका बारेमा अहिलेको अधिकांश नेता परिचित नै छन् । यो पुस्तामा केही भ्रम हुनसक्ला तर उहाँले विद्यार्थी र महिला आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका र सक्रियता नेकपाको इतिहासमा अमेट रुपमा रहेको छ । केही समय निस्क्रिय देखिए पनि उहाँमा प्रचूर राजनीतिक अनुभव रहेको छ । एउटा सवारीचालकले केही समय सवारी नचलाउँदैमा आप्नो ज्ञान बिर्सदैन भनेजस्तै विद्या अब आफ्नो राजनीतिक अनुभव र आफ्ना पति स्व. रवीन्द्रको सपना साकार पार्ने दृढ संकल्प बोकेर चुनावी मैदानमा उत्रनुभएको छ ।

देशको राजनीतिक परिवर्तन होस् वा सामाजिक विकृति–विसंगती त्यसबिरुद्ध सद्धा सक्रिय रहने विद्यामा अनेरास्ववियु प्रारम्भिक कमिटी, जिल्ला कमिटी अंचल कमिटी हुँदै केन्द्रिय कमिटीमा काम गरेको अनुभव छ । प्राध्यापन पेशामै रहँदा २०६२।०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएकी उहाँ २०६४ मा नेकपा (एमाले केन्द्रिय) संघीय मामला विभाग सदस्य बन्नुभयो ।

त्यस्तै २०६२ देखि २०६४ सम्म उच्चशिक्षा पाठयक्रम निर्माण समितिको सदस्य तथा २०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष बन्नुभयो ।

२०६७ देखि २०७० सम्म सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था “वियोण्ड वेइजिङ कमिटी”मा कार्यक्रम सयोजकको रुपमा कार्यरत उहाँले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभयो । त्यसपछि त्रिविको खुल्ला सेवा आयोग परीक्षा पास गरी स्थायी रुपमा उपप्राध्यापक पदमा उत्तीर्ण हुनुभयो । त्यसयता उहाँ निरन्तर प्राध्यापन पेशामा सक्रिय हुनुहुन्छ ।

विद्या भट्टराईको उम्मेदवारी चयनमा पार्टीभित्र कुनै विमति नहुनु नै उहाँको राजनीतिक योग्यता र योगदानको कदर हो । उहाँले चाहनुभएको भए यसअघि नै लाभका पद लिन सक्नुहुन्थ्यो विद्यार्थी नेताका रुपमा उहाँले देखाएको सक्रियता र उहाँको योग्यताले कुनै पनि लाभको पद उहाँका लागि टाढा थिएन तर उहाँले त्यसलाई महत्व दिनुभएन ।

तर विधिको विडम्बना आज उहाँ त्यही राजनीतिक मैदानमा उभिनु परेको छ । आफ्ना पति स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्न उहाँकै पदचाप पछ्याउन अनि जनतामा परेको पीडामा मलहम लगाउन र जनतामा रहेको विकासको भोक मेटाउन ।

कमेन्टहरु
Loading...