नेपाल पर्यटक यातायात ब्यबसायी संघको अध्यक्षमा पुनः गुरुङ

पोखरा, १३ भदौ / नेपाल पर्यटक यातायात ब्यबसायी संघको अध्यक्षमा पुन बोबरजंग गुरुङ निर्बिरोध निर्बाचित भएका छ्न् । संघको प्रथम अधिवेशनले बाबुराम पाण्डेलाई प्रथम उपाध्यक्ष, दुर्गादत्त दाहाललाई द्वितीय उपाध्यक्ष र सुरेश दाहाललाई महासचिवमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक सोम बहादुर थापाले जानकारी दिए ।

समितिको सचिवमा कुमार आचार्य र कोषाध्यक्षमा दिपेन्द्र ढकाल निर्बाचित भएका छ्न् ।
सदस्यहरुमा सुजन बराल, तारा गौतम, प्रकाश कुमार श्रेठ र रवि प्रसाद आचार्य रहेका छन् । भुवानी प्रसाद आचार्य मनोनित सदश्य हुन् ।

पर्यटकी गन्तव्यहरुको प्रबद्र्धन गर्ने

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीले पोखरा र यस वरपर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचान गरि संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने बताएको छ । संघको बिहीबार पोखरामा आयोजित १९ वार्षिक साधारण सभा एबं पहिलो अधिवेशनमा सो विषय सार्वजनिक गरिएको हो ।

बढ्दो जनसंख्याको चाप र सार्वजनिक स्थलहरुको अतिक्रमणले पर्यटकीय स्थलहरु साँघुरिंदै जाँदा पोखरा भ्रमणमा आउने पर्यटकहरुले भोग्नु परेका समस्यालाई न्यूनिकरण गर्ने योजना पनि संघले अगाडि सारेको छ ।

यसैगरी गण्डकी प्रदेशमा रहेका पर्यटकीय गन्तब्यहरुको प्रबर्द्धनात्मक सामग्रीहरुको प्रकाशन र वितरण गर्ने योजना पनि रहेको संघका महासचिव नवराज अधिकारीले जानकारी दिए । भारत र चिनका विभिन्न शहरमा प्रबर्द्धनात्म र अवलोकन संचालन गर्ने  पनि संघले अगाडि सारेको छ ।

भारतीय नम्बरका सवारीहरुलाई पोखरा र वरपरका स्थानहरुमा दृश्यावलोकन गराउँदा सबै ठाउँहरु नदेखाउने, यसले पर्यटकको बसाई घट्न पुगेको र ब्यबसायलाई समेत असर परेको संघले बताएको छ ।जथाभावी सवारी गुड्दा दुर्घटना समेत बढेको अध्यक्ष गुरुङले सुनाए ।

कार्यक्रमका अवसरमा संघका अध्यक्ष बोबरजंग गुरुङले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न संघले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए । यसअघि २० लाख पर्यटक नेपाल भित्र्याउने आधार सरकारले प्रस्तुत गर्नु पर्ने गुरुङले बताए । तातोपानी नाका खोलेर भए पनि केही पर्यटक बढाउन सकिने उनले बताए ।

पर्यटन सवारी नभै पर्यटनको कल्पना गर्न नसकिने भन्दै उनले होटल, रेस्टुरा वा अन्य पर्यटन ब्यवसाय जस्तै पर्यटन सवारी व्यवसाय विना पर्यटनको कल्पना गर्न नसकिने बताए । सवारीसाधन लगानीको जोखिमपूर्ण क्षेत्र भएको भन्दै गुरुङले धेरै सोचेर मात्र यो क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था रहेको स्मरण गराए ।

यस्तो परिस्थितिमा बैंकको चर्को ब्याज दरले गर्दा किस्ता तिर्ने बेला टाढा भाग्नु पर्ने अवस्था रहेको दुखेसो उनले पोखे । हवाई सेवा समेत नेपालमा उच्चस्तरको नभएको भन्दै उनले यस्तो अवस्थामा पर्यटन यातायातको झनै महत्व रहेको दाबी गरे ।

भारतीय पर्यटन सवारी नेपालमा निर्वाद गुडे जस्तै नेपाली पर्यटन सवारी पनि भारतमा उसै गरी गुड्ने वातावरणका लागि सरकारी स्तरबाट पहल हुनुपर्ने माग उनले राखे । नेपाल आउने भारतीय सवारीको व्यवस्थापन र रातो प्लेटका नेपाली निजी सवारी साधनको नियमन पनि उत्तिकै जरुरी भएको भनाई उनले राखे ।

पर्यटन सवारीमा झन्डै ४ अर्ब रुपयाँ लगानी रहेको जानकारी दिंदै उनले गण्डकी क्षेत्रमा मात्र ८०० पर्यटन सवारी गुड्ने गरेको बताए । कूल दर्ता संख्या भने झण्डै १४०० रहेको जानकारी पनि अध्यक्ष गुरुङले जानकारी दिए । होटल क्षेत्र पछि धेरै लगानी भएको संस्था संघ नै भएको दाबी पनि उक्त संस्थाले गरेको छ । पोखरस पर्यटन यातायात समिती भंग गरी संघ स्थापना गरिएको जानकारी पनि उनले दिए ।

सो अवसरमा अग्रज पर्यटन ब्यावसायी गणेशबहादुर भट्टराईले राज्य पर्यटन लगायत अन्य क्षेत्रका पूर्बाधार बनाउन गंभीर बन्नुपर्ने बताए । व्यवसायी पनि इमान्दर भएर व्यवसाय गर्नु पर्ने भन्दै उनले व्यवसायलाई मर्यादित बनाउनुपर्ने आबश्यकता औंल्याए । महिला पर्यटन ब्यावसायी लक्की कार्कीले सवारीसाधन मात्र नभै बाटो पनि राम्रो हुनु पर्ने भनाई राखिन् ।

कार्यक्रमको उद्घाटन उद्दोग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे । सो अवसरमा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापा, पर्यटन बिज्ञ बासु त्रिपाठी, नेपाल भ्रमण बर्ष गण्डकी संयोजक अग्नि कँडेल, आन्तरिक भ्रमण बर्षका संयोजक जुद्ध गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवि पोखरेल र मज्दूर नेता विश्णु बहादुर केसीले पनि बोलेका थिए ।

कमेन्टहरु
Loading...