१३ औं दक्षिण एशियाली खेलुकदका लागि आर्चरीका खेलाडी छनोट हुदैं

पोखरा, २९ भदौ/ पोखराको आर्चरी मैदानमा शनिबारदेखि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को लागि रिकर्भ तर्फ छनोटको लागि खेलाडीहरुले अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । तीन दिने प्रतिस्पर्धापछि ४ महिला र ४ पुरुष रिकर्भको लागि छनोट गरिने छ । छनोटको लागि ७ महिला १३ पुरुषले पहिलो दिन २४ डोर (एरो–तीर) हानेका छन् ।

७० मिटरको प्रतिस्पर्धाको लागि तीन दिनसम्म प्रतिस्पर्धा गरेपछि अन्तिम फाईनलिष्ट नाम निकालिने नेपाल आर्चरी संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक दिपकबहादुर गुरुङले जानकारी दिए । कम्पाउण्ड तर्फ महिला तथा पुरुष खेलाडी छनोट गरिसकिएको छ । छनोट समितिका संयोजक तथा नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष बसन्त थकालीका अनुसार कम्पाउण्ड तर्फ पुरुषमा काठमाडौंका रमेश भट्टचन, सनातन मल्ल र मिनप्रसाद गौचन रहेका छन् ।

गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोट भएका छन् । शेरचन कास्की जिल्ला आर्चरी संघका अध्यक्ष समेत हुन् । सहायक प्रशिक्षक समेत रहेको थकालीले महिला तर्फ गण्डकी प्रदेशका दुई खेलाडी कम्पाउण्ड प्रतिस्पर्धाको लागि बन्द प्रशिक्षण छन् । गण्डकीका मोनिका रानामगर र रश्मी दर्लामी छन् भने काठमाडौंका पार्षदा आचार्य र मन्जु बजगाँई छन् । अब रिकर्भमा खेलाडी छनोट गरिने उनले बताए । ‘तीन दिनसम्म खेलाडीले गरेको प्रदर्शनको आधारमा चार महिला र चार पुरुष खेलाडी छनोट गरिने छ ।’ मुख्य प्रशिक्षक गुरुङले बताए ।

रिकर्भमा गण्डकी प्रदेशबाट महिला तर्फ विष्णुमाया लिम्बु, केशरी आलेमगर, रोजिना थापामगर छन् । त्यसैगरी पुरुषमा असिम शेचरन, सुमन गुरुङ र ओमप्रकाश भट्टचनले छनोट प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल आर्मीबाट महिला तर्फ ज्ञानु अवाले र मित्र राई छन् भने पुरुष तर्फ रोशन नगरकोटी, डम्बर थापा, टबिन गुरुङ, ओमबहादुर कुमाल,प्रेमबहादुर विक रहेका छन् । नेपाल प्रहरीबाट पुरुष तर्फ तिलक पुनले प्रतिस्पर्धा गरिरहेका छन् ।

काठमाडौंबाट महिला तर्फ युमाईन राई, आईशा तामाङ छन् भने पुरुष तर्फ अजर प्रधानाङ्ग, प्राञ्जल राई र प्रेमप्रसाद पुन रहेको सहायक प्रशिक्षक एवं छनोट समितिका संयोजक थकालीले जानकारी दिए । उनका अनुसार तीनदिनसम्म प्रतिस्पर्धा गरेर अन्तिम छनोट गरिने छ । खेलाडीले ७२ डोर हान्ने छन् । एक डोरमा ६ वटा एरो(तीर) हुन्छ । छनोट भएका खेलाडीलाई पोखरामै बन्द प्रशिक्षणको लागि राखिने संयोजक थकालीले बताए । उनका अनुसार बन्द प्रशिक्षण नेपाल आर्चरी संघको बैठकले निर्णय गर्ने छ । सम्भवत दशैं अगाडि देखि नै बन्द प्रशिक्षण शुरु गरिने सम्भावना छ ।

अझै तयार छैन मैदान– दक्षिण एशियाली खेलकुदको तयारीमा रहदाँ पोखरा रंगशालाभित्रको आर्चरी मैदान अझै पूर्णरुपले तयार गरिसकिएको छैन् । जमिनमा माटो हालेर केही सम्याउने काम भएपनि पानी पर्दा अझै पानी मैदानमै जम्ने गरेको छ । मैदानको लागि निरीक्षण टोलीले निरीक्षण गरेर फाईनल गर्ने काम बाँकी छ । खेलाडी तर स्थानीय जानकारका अनुसार मैदानलाई साग गेम्स गर्ने स्वीकृति प्राप्त हुने सम्भावना देखिदैन् ।

खेलाडीहरुको भनाई अनुसार मैदान निरीक्षण गर्दा ‘रिजेक्ट’ हुन्छ । मैदान जिल्ला र राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने जस्तो योग्य भएर हुदैन् । अन्तराष्ट्रिय प्राविधिक टोलीले निरीक्षण गरेर निर्णय गर्ने हुदाँ त्यसतर्फ गम्भीर हुनुपर्ने खेलाडीहरुले ध्यानाकर्षण गराएका छन् ।

पुर्वाधार अझै तयार नहुदाँ खेलाडी नै अन्यौलमा छन् । ‘साग गेम्स केवल आयोजना मात्रै होईन राष्ट्रको इज्जतसँग जोडिएको छद । मैदान निरीक्षण गर्ने टोलीले स्वीकृति दिएपछि मात्रै खेल हुन्छ । अन्यथा हुदैन् । तर यो मैदान ‘रिजेक्ट’ हुने सम्भावना छ । त्यसमा हामीले ध्यान दिन सकेका छैनौ ।’ एक खेलाडीले भने–‘त्यसैले पुर्वाधारसँगै मैदानको स्तरोन्नति गर्नु अनिवार्य छ ।’ पानी पर्दा जम्छ । दुवो उम्रिएको छैन् । माटो भरेर स–साना ढुंगा छोपिएको छ । ‘मैदान हामीलाई उपयुक्त लागेपछि निरीक्षण टोलीले ‘रिजेक्ट’ गरे आर्चरी हुने सम्भावना क्षीण हुन्छ ।’ खेलाडीको भनाई थियो ।

मैदानको लागि आवश्यक बजेट अझै आएको छैन् । ९० लाख रुपैयाँ छुट्टाइएको छ । बजेट नआउँदा काम गर्न नसकिएको गुनासो कास्की जिल्ला आर्चरी संघको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले र्आचरीको बजेट आईनसकेको जानकारी दिए । ‘र्आचरीको बजेट आईसकेको छैन् ।’ उनले भने । बजेट नआउँदा पुर्वाधार तयार पार्न समस्या हुने ठम्याई खेलकुदकर्मीको छ ।

कमेन्टहरु
Loading...