अन्नपूर्ण ब्याटमिन्टनमा लक्ष्मण र बिशाल जोडी च्याम्पियन

पोखरा, २२ वैशाख/अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा दुई दिन सम्म चलेको अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा शुक्रवार सकिएको छ । पोखरा रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा भव्य समापन समारोहका बिच ३ वटै बिधामा पश्चिमाञ्चल क्षेत्रबाट खेलाडी छनोट गदै प्रतियोगिता सकिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले समापन समारोहको प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो । त्यस अवसरमा समापन समारोहलाई सम्बोधन गदै अध्यक्ष पौडेलले राज्यले अन्तराष्ट्रिय स्तरको ब्याटमिन्टन खेलका प्रतियोगिताहरु क्षेत्रीयस्तरमा गर्न नसकिरहेको बेलामा निजी क्षेत्रबाट मिडिया हाउसले नेपाली खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा खेल खेल्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नुभो ।

उहाँले अन्तराष्ट्रिय स्तरको खेल संचालन गरेर अन्नपूर्ण मिडिया नेटवर्कले अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभो । ‘एउटा मिडिया हाउसले मुुलुकमै पहिलो पटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता देशभरको क्षेत्रीय स्तर सम्म गराउनु राष्ट्र र खेलप्रेमीका लागि गौरवको कुरा हो’ उहाँले भन्नुभो ‘ यो प्रतियोगिताले हाम्रा खेलाडीहरुलाई अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव गराउनेछ ।’

कार्यक्रममा महिला सिंगल तर्फ प्रथम र दोस्रो स्थान हासिल गर्ने प्रजिता गुरुङ, अलिसा बलाललाई नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष बिमला भण्डारीले प्रमाणपत्र, नगद पुरस्कार सहित सम्मान गरिन् भने पुरुप सिंगल तर्फ प्रथम र दोस्रो स्थान हासिल गर्ने राजिन खड्का, बिबेक जिसीलाई पश्चिमाञ्चलको लोकप्रिय नोभेल एकेडेमीका अध्यक्ष एंव लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी वानका मुख्य सल्लाहकार विश्वेश्वर आचार्यले प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभो ।

त्यसैगरी पुरुष डबल्स् तर्फ प्रथम र दोस्रो स्थान हासिल गर्ने लक्ष्मण श्रेष्ठ, बिशाल हिराचन र सिद्धार्थ लामा, तेजेन्द्र गुरुङको जोडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष पौडेलले प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गर्नु भएको थियो । अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले प्रगियोगितालाई हरेक बर्ष संचालन गदै जाने बताउँदै आगामी बर्ष देखि अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगितालाई अझै भव्य रुपमा संचालन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभो । ‘खेलको माध्यमबाट पश्चिमेली र खेलाडीसँग हाम्रो सम्बन्ध अझै प्रगाढ बनेको छ’ उहाँले भन्नुभो ।

तियोगितामा सहभागी जनाउने खेलाडीहरुलाई अन्नपूर्ण मिडिया नेटवर्कका पश्चिमाञ्चल क्षेत्रीय इन्र्चाज शिबहरि देवकोटा, सेल्स एण्ड मार्केटिङ असिस्टेन्ड प्रकाश दाहालले स्वागत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले खेल अवधिभर हेल्थ डेक्स संचालन गरेको थियो ।  प्रतियोगितामा पुरुष डबल्स् तर्फ च्याम्पिन बनेका लक्ष्मण र बिशालले आगामी बर्षमा प्रगियोगितालाई निरन्तरता दिन आग्रह समेत गरेका छन । प्रतियोगिता राष्ट्रिय रेफ्री किरण कारञ्जितको नेतृत्वको प्राविधिक टिमले सञ्चालन गरेको थियो । यसअघि सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय प्रतियोगिता धनगढीमा, मध्यपश्चिमाञ्चल स्तरीय नेपालगन्ज र पश्चिमाञ्चल स्तरीय बुटवलमा प्रतियोगिता सञ्चालन भइसकेको छ ।

कमेन्टहरु
Loading...