वर्षौदेखि निरन्तर नयाँबजारको मेलामा (बिहीबार को को कलाकार आउछन्)

पोखरा, १९ मंसिर / पोखराकै महिला सीप विकास केन्द्रले नयाँबजारमा आयोजना हुने व्यापार मेलामा स्टल राख्न थालेको वर्षौँ भयो । केन्द्र मात्र हैन,कञ्चनपुरको भद्र मेरिट काष्ठ उद्योगका मनिराज भट्ट पनि २०६१ सालदेखि पोखराको नयाँबजारको मेलामा सहभागिता जनाउँदै आएका छन् ।
 ‘म २०६१ सालदेखि पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलामा आएको छु’,भट्टले भन्नुभयो,‘ मेरो सहभागिता मेलाजस्तै निरन्तर रहेको छ ।’ भट्ट  भाग्य अज्माउन विदेश पनि जानुभयो । तर, स्वदेशमै केही गरौँ भन्ने ठानेर उहाँले आफ्नो क्षेत्रमा पाइने औषधीय गुण भएको विजयसालको काठका विभिन्न भाँडाकुँडा बनाउन सिक्नुभयो अनि त्यसको बिक्री प्रवद्र्धनमा जुट्नुभयो । भाग्यले साथ दियो, छोराछोरी हुर्किए ।
विजयसालकै काठका भाँडा लिएर उहाँ चीनसम्म पुग्नुभयो । तर, पोखराको नयाँबजारमा आयोजना हुने मेला उहाँलाई विशेष लाग्छ रे !
 त्यस्तै हो, जुम्लामा जन्मनु भएकी रामकली खड्का समयक्रममा पोखराको रैथाने बन्नुभयो । जागिरे जीवनमै सिकेको उद्यमशीलता अरु महिलालाई पनि सिकाउने हुटहुटीले उहाँलाई उद्यमी मात्र बनाएन, अरु महिलाहरुलाई पनि आत्मनिर्भरता सिकायो ।
उहाँले जन्माएको महिला सीप विकास केन्द्रले महिलाहरुलाई तालीम दियो, चुलोचौकाबाट बचेको समयमा तान चलाउन र झोला अनि गुडिया बनाउन सिकायो ।  ‘हामीले यो काम सुरु गर्दा प्रचारको जरुरी थियो’, रामकलीले पुराना दिन सम्झँदै भन्नुभयो,‘त्यो समयमा हाम्रा सामानको प्रचार गर्न यो मेलाले ठूलो सहयोग ग¥यो ।’ पुरानै परम्परा सही, उहाँले यो पटक मेलामा स्टल राख्नुभएको छ । अहिले महिला सीप विकास केन्द्रका उत्पादनहरु संसारभर बिक्छन् तर प्रदर्शनीमा आफ्ना सामान राख्दा उद्यमशीलता सिक्न चाहने महिलालाई प्रेरणा दिने उहाँको भनाई छ ।
‘हामीले प्रदर्शनीमा सामान राख्दा विदेश निर्यात हुने सामानहरुको फिनिसिङ कस्तो हुनुपर्छ, मार्केटिक कसरी गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ भन्ने मैले ठानेको छु ।’– पोखराको नयाँबजारमा जारी सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाको नाममा भएको मेलामा स्टल राख्नुको कारणबारे उहाँले भन्नुभयो,‘यो निरन्तरता पनि हो ।’
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष तथा स्टल व्यवस्थापन संयोजक विन्दु कोइराला सुवेदीका अनुसार मेलामा वर्षौदेखि सहभागिता जनाउनेको संख्या ठूलो रहेको छ । उहाँले पोखरा उद्योग वाणिज्य संघले आयोजना राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाम बदलिए पनि मेलाप्रति देखिएको आकर्षण सन्तोषजनक भएको बताउनुभयो ।
यता एक्स्पोका प्रचारप्रसार समितिका संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार व्यवसाय प्रर्वद्धन तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउने उदेश्यमा एक्सपो सफल भएको दावी गर्नुभयो । यो पटक पोखराको औद्योगिक क्षेत्रका उत्पादनहरु प्रदर्शन तथा बिक्रीको लागि राखिएको, पोखरा वरपरको होमस्टे तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने कार्यलाई व्यवस्थित समेत गरिएको बताउँदै उहाँले एक्स्पोको एकपटक अवलोकन गर्न सम्पूर्ण पोखरेलीहरुसँग आग्रह पनि गर्नुभयो ।
यसैगरी पोखरा उद्योग वाणिज्य संघले उद्यमशीलता सिकाउनको लागि मेलाकै अवसरमा ‘बि टु बि मिटिङ’को पनि आयोजना गर्ने भएको छ । नेपाल महिला उद्यमी संघ ( डब्लुइएएन) को संयोजनमा हुने यो बिजनेस मिटिङमा उद्यमशीलता चाहने महिलाहरुलाई  प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताउनुभयो । बि टु बि मिटिङ  मंसिर २१ र २२ गते बिहान ८ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्रमै आयोजना हुनेछ । स्टलमा सहभागी महिला उद्यमीहरुलाई सो कार्यक्रममा पहिलो प्राथमिकता दिइने र सिट सिमित भएको पनि उहाँले बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीका अनुसार बिहीबार मंसिर २० गते चर्चित लोकदोहारी गायक प्रजापति पराजुलीसहित प्रकाश सपुत, चोलेन्द्र पौडेल, घनश्याम भुषाल, सरला पाण्डे, पार्वती जिसी, सीता केसी, अम्बर धिताल, माया गिरि, ईश्वर सिँह,नेत्र खड्का लगायतको प्रस्तुति रहनेछ ।
यता पपतर्फ दुर्गेश थापा प्रमुख आकर्षण रहनेछन् भने पोखरा दोहोरी घर र हाम्रो दोहोरी साँझ र लोकदोहोरी गीत प्रतिष्ठान बाग्लुङबीचको दोहोरी प्रतियोगिता पनि मेलाको आकर्षण रहनेछ । यसैगरी मगरहरुको साँस्कृतिक नाच कौरा, हाँस्य कलाकार रवि डंगोल र पूर्ण थापाले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिनेछन् । रत्यौलीतर्फ पनि ४ समूहको प्रस्तुति रहनेछ ।
कमेन्टहरु
Loading...