सफल एक्स्पोमा मोवाईल साटफेरमा उपभोक्ताको चासो

पोखरा, १६ मंसिर /पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सफल एक्स्पो पोखरा सँगै तेस्रो मोवाईल मेला चलिरहेको छ । मेलामा १४ वटा विभिन्न कम्पनी(ब्राण्ड)का मोवाईल स्टल छन् । स्टलमा नयाँ विक्री मात्रै होईन सर्वसाधारणले प्रयोग गर्दै आएको पुराना मोवाईल पनि साटफेर गरिन्छ ।

स्मार्ट फोन वर्षेनी परिवर्तित स्वरुपमा आउँछ । विशेषता थपिन्छ । त्यसैले मानवीय स्वभाव पनि बदलियसँगै नयाँ मोवाईल बोक्ने चाहना पनि बढ्दै जान्छ । सर्वसाधारणले आफुसँग भएको पुरानो मोवाईल साट्दै नयाँ लिनेको भीड पनि उत्तिकै छ । कतिपयले सोधपुछ गरेर आवश्यक कागजपत्र खोज्ने ध्याउन्नमा भोलि फर्किएर आउने घोषणा गरेर फर्किने गरेका छन् ।

‘दुई दिनमा ३० वटा जति मोवाईल एक्सचेन्ज गरिएको छ ।’ मोवाईल विक्रेता संघ कास्कीका अध्यक्ष शिवराज पहारीले भने–‘कानूनी प्रक्रियाले गर्दा केही समस्या छन् । कागजपत्र भएकाहरुको भने एक्सचेन्ज गरिएको छ ।’ मोवाईल एक्सचेन्ज गर्दा खरीद गरेको विल माग्ने गरिएको बताउँदै अध्यक्ष पहारीले विल नभएको मोवाईल साटफेर गर्न व्यवसायी हच्किएको जानकारी दिए । ‘चोरीको मोवाईल हुने डरले खरीद गरेको विल माग्ने गरेका छौं ।’ उनको भनाई थियो ।

सर्वसाधारणले साटफेर गर्दा जुनसुकै ब्राण्डका मोवाईल पनि लैजान पाउने प्रावधान छ । विशेष गरी मेलामा युवापुस्ताले ओप्पो, भिभो, एमआई, माईक्रो म्याक्स लगायतका ब्राण्डका मोवाईलमा रुची देखाएका छन् । स्र्माट फोन, अधिकांशको हातमा छ । तर ब्राण्ड भने फरक । सस्तो मूल्यदेखि लाख भन्दा बढी मूल्य पर्नेसम्म स्मार्ट फोन बजारमा उपलब्ध छन् ।

अन्तराष्ट्रिय बजारमा लन्चिङसँगै विभिन्न ब्राण्डका स्मार्ट फोन नेपाली बजारमा आईपुग्छ । नेपालमा पनि लन्चिङगरेपछि मोसफलका बजारमा सहजै उपलब्ध हुन्छन् । मोवाईल वितरण संघ पोखराका अध्यक्ष शिवहरी पहारीका अनुसार पोखराको बजारमा १२ देखि १५ ब्राण्डका मोवाईल विक्री वितरण हुदैं आएको छ । बजार सानो छ । तर विस्तारै फराकिलो बन्दै गएको छ । मानवीय चाहना पनि फराकिलो बन्दै गएकोले नयाँ ब्राण्डका मोवाईल भित्रिदै गएका छन् । स्मार्ट फोनसँगै आईफोन (एप्पल) मोवाईल रुचीमा पर्छन् ।

“मेलामा एकहजार २ सय रुपैयाँदेखि १ लाख २० हजार मूल्यसम्मका स्मार्ट फोन उपलब्ध छन् ।” संघका अध्यक्ष पहारीले भने–“उपभोक्ताको चाहना र रोजाई अनुसारका ब्राण्ड र मूल्यका स्मार्ट फोन खरीद गर्ने गरेका छन् ।” पोखरामा विभिन्न ब्राण्डका स्मार्ट फोन विक्री गर्ने झण्डै एकसय २० पसल छन् ।

अन्तराष्ट्रिय बजारमा आएका मोवाईल पोखरामा बढीमा हप्तादिन भित्रमा आईपुग्छन् । मोवाईलमा वर्षेनी फेरिने फिचर (विशेषता)ले सर्वसाधारणको रोजाईमा पर्दै गएको छ । मोवाईलको साईज, रंगले पनि सर्वसाधारणलाई स्मार्ट फोनप्रति चासो बढाईदिन्छ । क्यामरासँगै मेमोरीको क्षमता(स्टोरेज), प्रोसेसर लगायतका सामान्य फिचरले पनि मानवीय चाहनालाई पुलकित बनाईदिन्छ ।

पोखरामा मासिक ९ करोड रुपैयाँको स्मार्ट फोन विक्री हुने गरेको छ । “पोखरामा नयाँ लन्च हुदाँ सर्वसाधारणको चासो बढ्छ । नयाँ मोडल आउँदा पुराना मोडलको दाम विस्तारै घट्छ ।” उनले भने–“बजारमा बिक्री हुने ब्राण्ड मध्ये सबैभन्दा बढी सामसुङको ब्राण्ड बिक्छ ।” पोखराको बजारमा विशेष गरी सामसुङ, एप्पल, नोकिया, कलर्स, कारबोन, ओप्पो, भिभो, लाभा, जिय,ु एमआई, हुवावे लगायत अन्य ब्राण्डका मोवाईल विक्री हुने गरेका छन् । सिजनमा मासिक १० करोडसम्मको कारोबार हुने गरेको मोवाईल विक्रेताहरुले समेत बताएका छन् ।

तेस्रो मोवाईल मेलामा सर्वसाधारणले खरीद गर्ने मोवाईलमा गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने छन् । ब्राण्ड अनुसार खरीदकर्तालाई गिफ्ट ह्याम्पर उपलब्ध गराउँदै आएको उनको भनाई थियो । ‘मोवाई किन्दा सिमकार्ड अनिवार्य दिईन्छ । ब्राण्ड अनुसार कसैले राईसकुकर, थर्मस, सेल्फीस्टिक, मग लगायतका गिफ्ट ह्याम्पर दिदैं आईएको छ ।’ उनले भने–‘उपहारले पनि मोवाईल तर्फ सर्वसाधारणको आकर्षण छ । त्यसमा अझ साटफेर गर्न चाहने उपभोक्ता बढी छन् ।’

कमेन्टहरु
Loading...