राष्ट्रिय पाककला प्रतियोगितामा सुनसरी नेपाली उत्कृष्ट

पोखरा, ८ असार । नेपालमै पहिलो पटक आयोजना गरीएको राष्ट्रिय पाककला प्रतियोगिता शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

शुक्रबार साँझ पोखरा ग्राण्डमा १४ जना बिच भएको फाइनल चरणमा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भएकी छिन। नेपालीले २ सय ४१.५ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । विजेता नेपालीले उपाधिको साथमा नगद एक लाख रुपैया पुरस्कार प्राप्त गरेकी छिन।

प्रदेश नम्बर ३ कै रमेश थापाले दोश्रो स्थान हासिल गरे । थापाले २ सय २७.५ अंकका साथ दोश्रो हुदै नगद ७५ हजार रुपैया प्राप्त गरेका छन्। देश नम्बर ५ का ओमप्रसाद ढकालले २ सय २३ अंकका साथ तेश्रो हुदै ५० हजार रुपैया पुरस्कार प्राप्त गरेका हुन्।

सातै प्रदेशका १ सय ६३ जना प्रतियोगिहरुबाट विभिन्न चरणमा छनौट गरी फाइनल चरणमा १४ जना छनौट भएका थिए । कार्यक्रम सिटिइभिटि, राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, सुइस सरकारको प्राविधिक सहयोग, सुइस कन्ट्याकको सह—आयोजना तथा गेट भोकेसनलको समन्वयमा सम्पन्न भएको थियो।

नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएकोले प्राविधिक जनशत्ति उत्पादन गर्न टेवा पुग्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रमेश बखतीले जनाए । प्रतियोगिताको निर्णायकमा बरिष्ठ सेफ गोविन्द नर्सिङ केसी, एल.बी.कौशल, राजकुमार लामा रहेका थिए भने सेफ एशोसियसनका अध्यक्ष श्रीराम अधिकारीले अनुगमन गरेका थिए ।

प्रतियोगिताको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको वेलामा प्राविधिक शिक्षा आजको आवश्यकता भएकोमा जोड दिएका थिए । गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्राविधिक तथा सिप मुलक शिक्षाले देशमा रहेको बेरोजगार समस्या हटाउन सकिने दाबी गरिन ।

विगत दुई महिना देखि विभिन्न चरणमा छनौट हुदै फाईनल चरणमा ३ थरिका खाना पकाउने कलाको परीक्षण भएको गेट भोकेसनल पोखराका प्रवन्ध निर्देशक विवेक पौडेलले बताए ।

कमेन्टहरु
Loading...