पोखरामा प्राविधि शिक्षा तथा व्यवसायिक तालिम विज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन

पोखरा, २३ फागुन / पोखरा विभिन्न ९ देशका प्राविधि शिक्षा तथा व्यवसायिक तालिम विज्ञहरुको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् तथा कोलम्बो प्लान्ट स्टाफ कलेजको संयुक्त आयोजनामा प्राविधिक शिक्षालाई उद्योगसँग जोडरे कसरी रोजगार सृजना गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन भएको हो ।

सम्मेलनमा भारत, फिजी, श्रीलंका , पाकिस्तान, मलेशिया, थाइल्याण्ड, नेपाल, म्यानमार , फिलिपिन्सका प्राविधिक व्यवसायिक एवं तालिम सँग सम्बन्धित २१ जना निर्देशक उपनिर्देशक प्राचार्यहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागि विज्ञहरुले प्राविधिक शिक्षाको बारेमा अन्तर्राष्टिय अभ्यास के छ , सीपयुक्त प्राविधिक जनशक्तिलाई उद्योगसँग जोडेर रोजगारको वातावरण कसरी सृजना गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले प्राविधिक शिक्षालाई उद्योगसँग जोड्दा चुनौती, अवसर र दीर्घकालीन रणनीतिका सन्दर्भमा सम्मेलनमा वृहत छलफल गरिएको जानकारी दिनुभयो । उहाँले अन्तराष्टिय अभ्यासलाई हेरेर कसरी प्राविधिक शिक्षालाई आजको आवश्यकता अनुसार अगाडि लान सकिन्छ र प्राविधिक शिक्षालाई बढी भन्दा बढी व्यवहारिक बनाएर कसरी जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित भएको जानकारी दिनुभयो ।

सो अवसरमा पोखराका उद्योगी व्यवसायी बीच प्यानल डिस्कशन समेत गरिएको थियो । छलफलमा पोखरा उद्योग वाणिव्य संघमा अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल होटल संघका विकल तुलाचन, होटल बाराहीका राजकुमार के.सी वक्ताको रुपमा रहनुभएको थियो । उहाँहरुले आआफ्नो क्षेत्रको अनुभव सुनाउँदै नेपालमा प्राविधिक शिक्षा अझै पनि व्यवहारिक रुपमा समय सापेक्ष हुन नसकेको धारणा राख्नुभएको थियो ।

सीपयुक्त जनशत्तिले स्वदेश भन्दा विदेशलाई प्राथमिकता दिने लामो समय काम गर्न रुचि नदेखाउने, धैर्यताको अभाव, तालिम जसलाई आवश्यक हो उसलाई भन्दा पनि सर्टिफिकेट जम्मा गर्नेले मात्र लिने गरेको बताउनुभयो । उहाँहरुले उद्योग व्यवसायलाई परम्परागत भन्दा २१ औं शताब्दि सुहाँउदो प्राविधिक जनशक्तिको खाँचो रहेको भन्दै सिटिभिटीले अब समय सापेक्ष तालिममा जोड दिनु पर्ने सुझाव दिनुभयो ।

जनशक्तिलाई स्वदेश भित्र टिकाउने स्पष्ट रणीनिती अभाव देखिएको भन्दै तालिम प्रदान पछि रोजगारको अवस्थाको बारेमा संयन्त्र बनाएर अनुगमन गर्न समेत उहाँहरुको सुझाव थियोे ।
पाँच दिन सम्म चलेको उक्त सम्मेलनको अन्तिम दिनमा हरेक देशका विज्ञहरुले कार्यविधि तयार गरेर कार्यान्वयन गर्न प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...