पोखरा महानगरद्धारा १३ मा सञ्चालित उद्योग समुदायलाई हस्तान्तरण

पोखरा ६ चैत्र /पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ मा महानगरको पहलमा घरेलु उद्योग स्थापना भएको छ । वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाको सक्रियतामा पहिलो पटक महानगरमा घरेलु उद्योग सञ्चालनमा आएको हो । पोखरा लेखनाथ १३ नव दुर्गाटोलमा महालक्ष्मी दालमोठ उद्योग नाम दिएर सञ्चालनमा आएको घरेलु उद्योग मंगलबार एक कार्यक्रमका बीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले समुदायलाई हस्तान्तरण गरे ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ को स्वालम्बन कार्यक्रमद्धारा सञ्चालित उद्योग पोखरा लेखनाथ महानगरद्धारा सञ्चालित पहिलो उद्योग भएको वताउदै मेयर जिसीले वडा नम्बर १३ मा केही महिलाहरुलाई उद्यमी बनाउने कोसिस गरेको र यो काम दिगो टिकाउ र गुणस्तरिय बनाउनका लागी महानगरले साथ दिने वताए । स्थानिय तहको निर्वाचनको वेलामा जनताको पोखरालाई उद्यमशीलको शहर बनाउने भनेर हिडेको स्मरण गर्दै सानो लगानीमा वढी उत्पादन गराउनका लागी थालनी भएको वताउदै सुरुवातमा उत्पादन भएको बस्तुलाईनै बजारीकरण गराउनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । महालक्ष्मी दालमोठ उद्योगको पहिलो उत्पादन नमुनायोग्य रहेकाले बजार खोज्न नपर्ने वताउदै जिसीले यसको प्रवद्र्धनका लागी आफुले सहयोग गर्ने समेत बताए ।

त्यस्तै वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले आर्थिक क्रान्तिको सुरुवात आफ्नै ठाउबाट गर्नुपर्छ भन्ने ठानेर घरायसी काम बाट फुर्सद भएको समयलाई सदुपयोग गर्नका लागी आफ्नो वडामा भएका दिदी बहिनीहरुलाई समाहित गरि उद्योग सञ्चालन गरेको वताए । १० लाखको लगानीमा सञ्चालनमा आएको उद्योगमा १३ नम्बर वडामा रहेका १७ जना दिदी बहिनी र ३ जना कार्यरत रहेको र मंगलबार बाट उक्त उद्योग महिलाहरुलाईनै हस्तान्तरण गरिएको अध्यक्ष लामाले वताए ।

उद्योगको स्वामित्व पाएको दिदी बहिनी समुह १३ नम्बर वडाका सीता पहारीले स्थानिय निकायको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनीधिहरुले आफ्नो वडामा रहेका दिदिबहिनीहरुलाई समाहित गरेर उद्योग सञ्चालनमा ल्याएर आफुहरुलाई स्वरोजगार बनाइ श्रीमान संग भर पर्न नपर्ने वनाएको वताइन । उद्योगबाट दालमोठ, भुजिया, बदाम, फ्राइ चिउरा, ढुम्रो लगायतका सामाग्रीहरु उत्पादन हुदै आएको वताउदै पहारीले आगामी दिनमा यसको प्रचार प्रसार गरी उद्योगलाई प्रवद्र्धन गर्न आग्रह गरिन ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ ले जस्तै अन्य वडाहरुले पनि थोरै लगानीमा यस्तै उद्योगहरु सञ्चालन गर्न सकेको खण्डमा पक्कैपनि महिला दिदीबहिनीहरु स्वरोजगार हुने र वडाभित्र बसोबास गर्ने बासिन्दाहरुले घरायसी सामाग्रीहरु किन्नका लागी बजार सम्म जान नपर्ने समय र पैसाको सदुपयोग हुने थियो ।

कमेन्टहरु
Loading...