सटर पेटीको व्यापार बन्द गर्न र दिनभर सडकमा गाडी पार्किङ नगर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा, २९ कात्तिक/ पोखरा उद्योग वाणिज्य संघले सटर पेटीमा हुने अनधिकृत व्यापारलाई प्रोत्साहन नदिन,उद्योग/व्यवसायिक प्रतिष्ठानहरुको फोहरको सही व्यवस्थापन गर्न र आफ्नो व्यावसायिक प्रष्ठिान अगाडिको सडकमा दिनभर गाडी पार्किङ नगर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गरेको छ ।

हाल पोखराको सटर छेउमा हुने गरेको पोके व्यापारलाई घरबेटी र व्यवसायीले नै प्रश्रय दिएको गुनासोलाई उधृत गर्दै संघका महासचिव अर्जुन पोखरेलद्धारा बिहीबार जारी विज्ञप्तिमा त्यस्ता खाले गतिविधी तत्काल बन्द गर्न व्यवसायीहरुसँग आग्रह गरिएको छ ।

महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा पोके र खुद्रा व्यापारलाई प्रोत्साहित गर्ने तथा थप सहुलियत र सुविधा लिने प्रवृत्तिको विरोध गर्दै सो उपर कारवाहीको माग समेत गरिएको छ ।

‘खुद्रा र पोके’ व्यापार गर्न छुट दिने र उनीहरुबाट थप सहयोग र सहुलियत लिने प्रवृत्तिलाई संघ निरुत्साहित मात्र गर्दैन कानूनी कारवाहीको लागि सिफारिस समेत गर्दछ’, विज्ञप्तिमा भनिएको छ,‘ यस्ता खालका गतिविधी तत्काल नियन्त्रणको लागि पोखरा महानगरपालिका तथा सम्बन्धित निकायमा समेत माग गर्दछ ।’

यसैगरी व्यावसायिक प्रतिष्ठानबाट निस्कने फोहर व्यवस्थापनको नाममा सडकमा जहाँतहीँ फाल्ने प्रवृत्तिप्रति असहमति जनाउँदै फोहर सही ठाउँमा फाल्न पनि विज्ञप्तिमार्फत पोखरा उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

संघका महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा आफ्नो व्यवसायिक प्रतिष्ठानको अगाडि दिनभर गाडी पार्किङ नगर्न र ट्राफिक व्यवस्थापनलाई सघाउन पनि आग्रह गरिएको छ ।

व्यवसायीहरुले बिहान पसल खोल्न गाडी चढेर आउने र दिनभर गाडी सडकमा पार्किङ गरी सोही गाडीमा घर फर्कने गर्दा ट्राफिक व्यवस्थापनमा असर परेको गुनासो बढेपछि संघले यस्तो आग्रह गरेको हो ।

कमेन्टहरु
Loading...