ब्यापार मेलामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था 

पोखरा, २८ पुस /पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’ मा अपाङ्गता भएका तथा जेष्ठ नागरिकले निःशुल्क प्रवेश पाउने भएका छन् ।
‘हामीले जेष्ठ नागरिकको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिहरुको हितको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएका हौँ’, आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले भन्नुभयो,‘सामाजिक उत्तरदायित्व बहन संघको पहिलो प्राथमिकता हो ।’ उहाँका अनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागि यो व्यवस्था गरिएको हो ।
यता अवलोकनकर्तालाई लक्षित गरी मेलामा मोवाइल खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । दोस्रो मोवाइल मेलाअन्तर्गत त्यहाँ सामसुङ, ओप्पो,जिओनी, माइक्रोम्याक्स, भिभो,लाभा, नोकिया,लाभा, कुलप्याड, मोटोरोला, सिजी स्मार्ट फोन, हुवेइ, कलर्स, वनफोनलगायतका कम्पनीका मोवाइलहरु राखिएका छन् । ‘यहाँ राखिएका सबै मोवाइल फोनहरुमा विशेष छुटको व्यवस्था गरिएको छ’, नेपाल मोवाइल बिक्रेता संघ कास्कीका अध्यक्ष शिवराज पहारीले भन्नुभयो,‘ छुटसँगै हामीले उपहारको पनि व्यवस्था गरेका छौँ ।’
मेलाको साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिका अनुसार शुक्रबार लोकदोहोरी गायकहरु पुष्कल शर्मा, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ,जयकुमार परियार, प्रदीप त्रिपाठी,दिलु लामा, सुनिता नेपाली, सुरेश भुर्तेलसहित पप गायकहरु ओम गुरुङ, सन्तोष बस्याल, कमल खत्रीले दर्शकलाई मनोरञ्जन दिँदैछन् । यसैगरी महिला व्याण्डको प्रस्तुति तथा साँझ डिजे सेसन पनि हुने उहाँले जानकारी दिनुभयो । नाच्न चाहनेहरुलाई लक्षित गरी साँझ डिजे सेसन राखिएको हो ।
साँस्कृतिक कार्यक्रमअन्तर्गत शनिबार पपतर्फ प्रमोद खरेल, धिरज राई र ममता गुरुङको प्रस्तुति रहनेछ भने लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, राजन कार्की, ज्योति लोहनी, निश्चल दवाडी, गंगा त्रिपाठीलगायतका कलाकारहरु रहनुहुनेछ । हाँस्यव्यङ्रग्यतर्फ शनिबार रवि डंगोल ( वेइमान)को प्रस्तुति रहनेछ ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको प्रवेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था गरिएको छ भने मेला समापनको अवसरमा गोलाप्रथाद्धारा एकजनालाई हुण्डाई कम्पनीको इवन कार दिने व्यवस्था समेत मिलाइएको छ । प्रवेश टिकटमा दैनिक पुरस्कार चाहिँ मनकामना केवलकार र चन्द्रागिरि केवलकारको टिकट भएको उहाँले जनाउनुभयो ।
कमेन्टहरु
Loading...