पोखरामा राष्ट्रिय पर्यटक गाइड तालिम सुरु

पोखरा, ८ पुस / नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सोमबार देखि राष्ट्रिय पर्यटक गाइड तालिम सुरु भएको छ । पर्यटन सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट(नाथुम) सँगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

कुल तीन सय घण्टा सञ्चालन हुने तालिममा २५ जना सहभागी रहने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले बताए । पोखरामा पहिलो पटक यस किसिमको तालिम गर्न लागिएको जानकारी दिदै उनले तालिम प्राप्त व्यक्तिहरूका माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

=तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई पर्यटकीय शहरका रुपमा विकास गर्न महानगरपालिका लागिरहेको बताउँदै यसका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताए ।

व्यवसायिक दक्षतायुक्त जनशक्ति भएमा पर्यटन क्षेत्रको विकास सम्भव हुने बताउँदै उनले तालिमका उपलब्धिलाई व्यवहारमा उपयोग र्न सक्ने गरी क्षमता अभिबृद्धि गर्न तालिमका सहभागीलाई आग्रह गरे । नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सहसंयोजक अग्नी कंडेलले भ्रमण वर्ष नजिकिदै गर्दा गरिएको तालिम फलदायी बन्ने विश्वास व्यक्त गरे ।

पर्यटन विज्ञ वासु त्रिपाठीले पोखरामा यस किसिमको तालिम सञ्चालन हुनु यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण भएको बताउँदै पर्यटनको समग्र विकासमा पर्यटक गाइडको विशेष भूमिका हुने उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले गण्डकी प्रदेशको समृद्धिको महत्वपूर्ण आधार पर्यटन नै भएको बताउँदै प्रकृति, संस्कृति र साहसिक पर्यटक यहाँको विशिष्टता भएको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पर्यटकीय रुपमा पोखराको कथा जसरी सुनाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

पर्यटक गाइड भनेका सद्भावना दुत रहेको बताउँदै श्रेष्ठले कुनै पनि स्थान र त्यहाँको चिनारी कसरी प्रस्तुत हुन्छ त्यसले विशेष महत्व राख्ने स्पष्ट पारे । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले स्वागत तथा महासचिव हरिराम अधिकारीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नाथुमका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल, तालिम संयोजक कूलचन्द्र शर्मा, पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारी लगायतले तालिमबाट अधिकतम उपलब्धि हासिल गर्न सहभागीलाई आग्रह गरे ।

कमेन्टहरु
Loading...