कुनैपनि स्थानमा लोडसेडिङ छैन : विद्युत् प्राधिकरण

काठमाडौं, ११ चैत /औद्योगिक करिडोर बाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पस्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कहीँ–कतै पनि समस्या नभएको जनाएको हो ।

काठमाडौं उपत्यका लगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घन्टा विद्युत् कटौती हुने गरेको भए पनि घरायसी ग्राहकलाई पूर्ण रुपमा विद्युत् आपूर्ति भइरहेको उल्लेख गरेको छ ।विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने प्राविधिक गडबडीले केही बेर विद्युत् जाँदैमा त्यसलाई विद्युत्भार कटौतीको रुपमा बुझ्न नहुने बताएका छन् ।

हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा सामान्य गडबडी हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको र विगतमा पनि यस्तो अवस्था रहने गरेको उनको भनाइ थियो ।विगतमा लगातार विद्युत् कटौती हुँदा त्यस्तो समस्या कम मात्रै सार्वजनिक हुने गरेको उल्लेख गर्दै प्राधिरकणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको समूह २४ सै घन्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितो रुपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिइसकेका छन् ।प्राधिकरणले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइरहेको समेत जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...