लेखनाथ र झापाले पर्यटनमा सहकार्य गर्ने

पोखरा, २३ चैत /पर्यटन प्रवद्र्धनका लागि प्रदेश नम्बर १ गएको लेखनाथका पर्यटन व्यवसायीहरु ५ दिने भ्रमण सकेर फर्किएका छन् । ‘गन्तव्य बेगनास’ अभियानसहित पूर्वको धरान, बिर्तामोड लगायत क्षेत्रको भ्रमणमा निस्केको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको टोली अभियान सकेर शुक्रबार साँझ लखनाथ फर्किएका हुन् ।

नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा व्यवसाय तथा पर्यटन प्रवद्र्धनका लागि पूर्वी भ्रमणमा निस्केको टोलीले सुनसरीको धरान र झापाको बिर्तामोडमा पर्यटन प्रवद्र्धनबारे त्यहाँका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको थियो । भ्रमणका क्रममा टोलीले धरान होटल एशोसियसन र होटल एसोसियसन झापालाई पर्यटनमा सहकार्यको प्रस्ताव गरेको थियो ।

प्रस्तावलाई होटल एशोसियसन झापाले स्विकार गरिसकेको छ । होटल एसोसियसन झापाको स्विकारोक्तीसँगै लेखनाथ र झापाका पर्यटन व्यवसायी बिच पर्यटनसँग सम्बन्धित ६ बुँदे सम्झौतामा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना र झापा होटल एसोसियसनका अध्यक्ष भोला उप्रेतीले हस्ताक्षर गरेका छन् ।

लेखनाथ र झापाका पर्यटन व्यवसायीले दुवैतर्फका पर्यटकलाई एक अर्काकोमा जाँदा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार अब झापाको पर्यटक कास्कीको लेखनाथमा आउँदा र लेखनाथका पर्यटक झापामा जाँदा १५ प्रतिशत छुट दिइनेछ । दुबैतर्फका होटल तथा रेष्टुरेण्टमा पर्यटकलाई खाना, खाजा र बासमा विशेष छुट दिन सहमति भएको होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै सम्झौता अनुसार दुबै स्थानका पर्यटन व्यवसायीहरु एक अर्को सहरमा बार्षिक रुपमा भ्रमण र प्रचारात्मक अभियान सञ्चालन गरिनेछ । यसले एक अर्काको ठाउँको बारेमा बुझ्ने, बुझाउने व्यवसायको प्रचारप्रसारमा सघाउने एसोसियसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले बताए ।

एक अर्काका क्षेत्रको व्यवसायीक विकास तथा पर्यटन प्रवद्र्धनका लागि संयुक्त प्रयास गर्ने, बेगनासमा आउने पर्यटकलाई झापा जान र झापामा पुग्ने पर्यटकलाई बेगनास तथा रुपा क्षेत्रमा जानका लागि सिफारिस गर्ने र सरकारको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउनका लागि भूमिका खेल्ने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पर्यटनको विकास र बिस्तारमा कोशेढुंगा सावित हुने एसोसियसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए । सम्झौताले पोखरा आउने पर्यटकको बसाई अवधीसमेत लम्बिने उनको दाबी छ ।

झापा होटल एसोसियसनका अध्यक्ष भोला उप्रेतीले सम्झौताले समग्रमा गण्डकी प्रदेश र प्रदेश नम्बर १ को पर्यटन प्रवद्धनमा सघाउ पुग्ने बताए । उनले भने,‘देशकै पर्यटकीय हव पोखरा बेगनास क्षेत्रमा झापाको बारेमा जानकारी दिने र पोखराको बारेमा झापाका व्यवसायीले जानकारी दिने अनि विभिन्न कार्यक्रम गर्दा स्वभाविक पर्यटकीय गतिविधि बढ्नेछन् ।’

कमेन्टहरु
Loading...