लोकप्रिय बन्दै जुत्ताचप्पल व्यापार मेला, उपभोक्ताको भीड दैनिक बाक्लिँदै

पोखरा, १ फागुन/तेस्रो दिनसम्म आईपुग्दा जुत्ता चप्पल व्यापार मेलाको लोकप्रियता झन् बढेको छ । उपभोक्ताहरुको भीडले यो कुरालाई पुष्टी गरेको छ । मेलामा आएर जुत्ता चप्पल किन्नेको सँख्या दैनिक बढिरहेको आयोजकले बताएका छन् ।

अघिल्लो वर्षको जुत्ता मेलाको तुलनामा अहिले झन् बढि उपभोक्ताहरु मेलामा जुत्ता चप्पल किन्नका लागि आएको आयोजक नेपाली जुत्ता घर प्रालिको दाबी छ । ‘खुला बजारमा सिन्डिकेट लाद्न खोजिएपनि उपभोक्ताहरुले मेलामा आएर जुत्ताचप्पल खरिद गरि हामीप्रति देखाएको विश्वासले हामीलाई अझै बढि हौसाएको छ ।’ मेला आयोजक मध्येका एक रन शुजका रुद्र न्यौपानेले भने–‘उपभोक्ताको यो मायालाई हामीले आत्मसात गरेका छौँ ।’

यस अगाडि एक महिना हुने भनिएको जुत्ता मेला एक हप्तामात्रै हुने गरि महानगरले स्विकृति दिएपनि उपभोक्ताहरुले भने मेलाको अवधी अझै लम्बाउनुपर्ने माग राख्दै आएका छन् । यो पटक एक हप्तामा सिमित भएपनि अर्को पटक उपभोक्ताको मागअनुसार नै लामो समय जुत्ता मेला गर्ने आयोजकको योजना छ । स्थानिय व्यवसायीको विरोध भएपनि मेलामा उपभोक्ताको सहभागिता देखेर आफुहरु सफल भैसकेको आयोजकको भनाई छ ।

‘हामीले उपभोक्ताको राम्रो साथ पाउनु भनेकै हामी सफल हुनु हो । जुत्ता चप्पल व्यापार मेलाप्रति उपभोक्ताले निकै राम्रो प्रतिक्रिया पनि दिईरहेका छन् ।’ आयोजकले भनेको छ–‘यहाँका व्यवसायीले सिन्डिकेट लाद्न खोजेपनि उपभोक्ताले भने त्यसलाई तोडिदिएको हाम्रो बुझाई छ ।’ पोखरा सभागृहमा जारी जुत्ता चप्पल व्यापार मेला आगामी शनिबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

जुत्ता मेलामा नेपालमा जुत्ता उत्पादन गर्दै आएका ९ वटा कम्पनीहरु एकै ठाऊँबाट आफ्नो उत्पादन बेचिरहेका छन् । नेपाली उत्पादनलाई प्रबद्र्धन गर्ने मेलाको उद्देश्य हो । मेलामा बिएफ डियर हिल, शिखर शुज, रोयल शुज, क्रसरोड शुज, रन शुज, फुटल्याण्ड शुज, कदम शुज र हाइलाइफका जुत्ताहरु मेलामा विक्रिका लागि राखिएका छन् ।

नेपाली जुत्ता घर प्रालिले स्थापनाकालदेखि नै स्वदेशी उत्पादनका जुत्ताहरुको व्यापार गर्दै आएको छ । कुल १० वटा जुत्ता कम्पनीहरु एकै ठाऊँमा भएर स्थापना भएको यो कम्पनीले काठमाण्डौ, पोखरा, बुटवल र विराटनगरमा जुत्ता मेला गर्दै आएको छ । हालसम्म काठमाण्डौमा यो कम्पनीले ५ वटा जुत्ता मेला गरिसकेको छ भने बुटवलमा दुईपटक मेला सम्पन्न गरिसकेको छ । त्यस्तै केहि समय अगाडि मात्रै कम्पनीले विराटनगरमा जुत्ता मेला सम्पन्न गरिसकेको छ । कम्पनीको काठमाण्डौमा ५ वटा र पोखरामा १ वटा शो रुम पनि संचालनमा आईसकेको छ ।

कमेन्टहरु
Loading...