३ हजारको जुत्ता २६ हजारमा बिक्री, हुन्छ कति ठगि

काठमाडौं, २० भदौ /दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ । मन्त्री शिवकुमार मण्डलको सक्रियतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्तासहित संरक्षण विभागले स्टोर वान, बेन्ट्ली, पुमा र नाइकको सोरुम सिल गरेको हो। अजित अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

मन्त्री मण्डलले दसैँ–तिहारका वेला ‘सेल’ लगाएको देखाउँदै ठगी गरेको भेटिएपछि सिल गरेको बताए । उपभोक्ता ठग्ने नियतले नै सेल स्किम लगाउने देखिएको उनले बताए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नाइक ब्रान्डको जुत्ता व्यवसायीले ४ हजार ७ सय रुपैयाँमा खरिद गरेको बिल देखाएका थिए । ‘तर, उपभोक्तालाई छुटमा समेत दिँदा पनि सो जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्रीका लागि राखिएको देखियो,’ उनले भने, ‘यसलाई हेर्दा उपभोक्ता अत्यन्तै ठगिएका छन् ।’

त्यस्तै २ हजार ६ सय रुपैयाँको सामानको बिक्री मूल्य २६ हजार रुपैयाँ राखिएको अवस्थामा भेटिएको उनले बताए । नर्थ फेसको सोरुममा १३ हजार रुपैयाँमा बिक्री गरेको वस्तुको बिल ४ हजार रुपैयाँमा मात्रै काटेको अवस्था भेटिएको टोलीले जानकारी दिएको छ । महानिर्देशक दाहालले खरिद–बिक्रीको बिलमा ठूलो अन्तर आउनु अस्वाभाविक रहेको बताए । ‘दसैँका वेला विभिन्न गुणस्तरका सामानलाई सेलको नाम दिएर ठग्ने प्रवृत्ति देखियो,’ उनले भने, ‘बिलबिजक देखाउन नसक्नेको पसल सिल गरेका छौँ ।’

विभागले नर्थ फेसलाई सम्पूर्ण बिलबिजकसहित ३ दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । महानिर्देशक दाहालले सेल लगाउनुअघि कुन मूल्यमा बिक्री भएको भन्ने कागजात माग्दासमेत व्यवसायीले दिन नसकेको जानकारी दिए । सेलअघिको मूल्य थाहा हुन आए तोकिएको छुटअनुसार हाल मूल्य तय भए–नभएको थाहा हुन्छ । ‘हामीले योभन्दा अघि कतिमा बिक्री भएको थियो र ५० प्रतिशत सेल भनेर कतिमा बिक्री भएको छ भन्ने कुराको कागजात मागेका छौँ । उपभोक्ताका सामान बिक्री गरेको यहीँ बिल माग्दा पनि नपाइरहेको स्थिति छ,’ उनले भने । ठग्ने व्यवसायीलाई कारबाही गरी उपभोक्ता अधिकार सुरक्षाका लागि खट्ने उनले दाबी गरे ।

कमेन्टहरु
Loading...