अनाबश्यक प्रहरी खानतलासीको मेयरद्वारा आलोचना

पोखरा, ५ फागुन/पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जीसीले महानगरका होटल तथा लजमा प्रहरीले अनाबश्यक खानतलासी लिने गरेको भन्दै त्यस्तो कार्य प्रति असन्तुष्टि जनाएका छन् ।

पश्चिमाञ्चल होटल संघ पोखराको ३७ औं वार्षिक साधरण सभालाई शुक्रबार पोखरामा सम्वोधन गर्दै प्रमुख जीसीले लामो समयदेखि खासगरी लेकसाइडका होटलमा प्रहरीले विनाकारण चेकिङ गर्ने गरेको भन्दै प्रहरीको यस्तो कार्यले पर्यटनप्रति नकारात्मक धारणा सिर्जना हुने बताए ।
वडा प्रहरी कार्यालय बैदामले विभिन्न वाहनामा चेकिङ गरी व्यवसायीलाई दुःख दिन नहुने भन्दै विना कुनै गैरकानूनी कारण होटलका कोठामा प्रहरी पुग्दा त्यहाँ बसकेका पर्यटकले पोखराप्रति नकारात्मक धारणा बनाउने उनको भनाई थियो । होटलमा गैरकानूनी काम भएको अवस्थामा वा भएको आशंका लागेमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व नै भएको पनि उनले स्मरण गराए ।

पोखरा प्रवद्र्धनका विषयमा टिप्पणी गर्दै उनले सधैं प्रवद्र्धन मात्र भनेर पोखरा बाहिर गएर पर्यटक डाक्नुको सट्टा महानगरलाई सुन्दर, स्वच्छ र हराभरा बनाएर पर्यटकलाई पोखरा जाउँ जाउँ लाग्ने वातावरण बनाउन उनले व्यवसायीलाई सुझाव दिए । पोखरा प्राकृतिक रुपमा राम्रो छ भनेर हेरेर सुन्दरतामा रमाएर मात्र नहुने भन्दै उनले सुन्दरताबाट फाइदा पनि लिन सक्नुपर्ने भनाई राखे । विकास निर्माणको सन्दर्भमा कहिलेकाही निर्मम हुन पनि जरुरी देखेको भन्दै उनले पोखरा विकासका लागि आफू सीमा भित्रको निरंकुशता लाद्न समेत तयार भएको बताए । म फेरी भन्छु सीमा भित्रको निरंकुशता जरुरी छ, उनले दोहोर्याए ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटन विकासका लागि पूर्वाधार र कनेक्टिभिटी ठूलो कुरा भएको भन्दै बढी भन्दा बढी पर्यटक ल्याउन प्रवद्र्धन पनि उत्तिकै जरुरी भएको भनाई राखे । होटल संघ नेपालका महासचिव विनायक शाहले सन् २०२० सम्म थप चार हजार कोठा काठमाडौंमा मात्र थपिने भन्दै होटलको लगानी जोगाउनु अहिलेको चुनौति हो भने । पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सरकारसँग पेड होलिडे प्रणाली लागू गर्न माग गरे । उनले पोखरामा नयाँ विमानस्थल बनेपछि त्यसको क्षमता सदुपयोग गर्नेतर्फ अहिले नै शोच्नुपर्ने भनाई राखे ।

कार्यक्रममा प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले प्रदेश ४ को समृद्धि र पर्यटन शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संघका महाचिव गणेशराज पहारीले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । साधरण सभाको बन्द शत्रमा महासचिव पहारी र कोषाध्यक्ष पार्वती पाण्डेको प्रतिवेदन पारित गरिएको थियो । आगामी फेवा नव वर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्ने विषयमा पनि छलफल गरिएको थियो ।

कमेन्टहरु
Loading...