पर्यटन विकासका लागि होटल व्यवस्थापन एवम् आतिथ्यता तालिम

पोखरा, १८ वैशाख /नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको प्राविधिक सहयोगमा स्याङ्जाको पुतलीबजार नगरपालिका र भीरकोट नगरपालिकामा मंगलबार देखि छुट्टाछुट्टै रुपमा तीन दिने होटल व्यवस्थापन एवम् आतिथ्यता तालिम सुरु भएको छ ।

स्याङ्जाको पर्यटकीय विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ होटल व्यवसायमा कृयाशिल व्यवसायीको क्षमता अभिबृद्धिका साथै उनीहरूलाई होटल व्यवस्थापन एवम् आतिथ्यता सम्बन्धमा प्राविधिक एवम् व्यवहारिक पक्ष बारे जानकारी दिन तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्ड प्रदेश नं ४ कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका साथै यस आसपासमा बन्दै गरेका पर्यटकीय पूर्वाधारको विकाससँगै यसको ठूलो लाभग्राही स्याङ्जा बन्ने बताउनुभयो ।

राम्रो खाना र आतिथ्यता पर्यटनका लागि अपरिहार्य आवश्यकता भएको बताउँदै उहाँले व्यवसायीहरूले तालिमबाट अधिकतम फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले भीरकोट नगरपालिका क्षेत्रमा पर्यटकीय पूर्वाधार तीव्र रुपमा विकास भैरहेको बताउनुभयो ।

सेवा र व्यवहारले पर्यटकलाई आकिर्षत गर्न सकिने बताउँदै उहाँले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष अनन्त श्रेष्ठले स्याङ्जा जिल्ला पर्यटकीय सम्भावनाको दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थल भएको बताउँदै यसको विकासका लागि पूर्वाधारको विकासका साथै प्रचारप्रसार आवश्यक भएको उल्लेख गर्नुभयो ।

भीरकोट नगरपालिकाका उप प्रमुख सीमा केसी कर्माचार्यले भीरकोट बजारीकरणमा अघि बढीरहेको बताउँदै अस्तव्यस्त रुपमा सञ्चालित होटललाई व्यवस्थित गर्न यस्ता तालिम उपयोगी बन्ने धारणा राख्नुभयो ।

पुतलीबजार नगरपालिका उप प्रमुख महेश पुरीले रोजगारीको खोजीमा युवाहरू विदेशिएको वास्तविकतालाई दृष्टिगत गरी पर्यटकीय विकासका माध्यमबाट स्वदेशमा नै रोजगारी दिन सक्ने वातावरण तयार गर्न सकिनेमा जोड दिनुभयो ।

जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष अनन्त श्रेष्ठका अनुसार होटल व्यवस्थापन तथा आतिथ्यता विषयक तालिममा भीरकोट नगरपालिकामा ५० जना र पुतलीबजार नगरपालिकामा ३५ जनाको सहभागिता छ ।

कमेन्टहरु
Loading...