सराङ्कोटमा तारे होटल अन्नपूर्ण भ्यू सञ्चालनमा

पोखरा, १७ फागुन /जापानमा रहेका व्यापारीहरुको लगानीमा निर्माण भएको होटल अन्नपूर्ण भ्यू सराङकोटको प्रारम्भिक शुभारम्भ भएको छ । होटलको उद्घाटन पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा र जापानीज राजदूत वाग्वा ओगाहले संयुक्त रुपमा गरेका हुन् । पहिलो चरणमा १ अरब ५० करोड खर्च भएको होटलको कुल लागत ३ अरब लगानी र आगामी सेप्टेम्बरमा पूर्ण संचालन लक्ष्य रहेको होटलका संस्थापक ताकासी मिहाराले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डमा जापानी प्रविधिमा निर्माण भएकोले अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पूर्ण सुविधा रहने बताइएको छ ।

शुभारम्भ कार्यक्रममा जापानीज राजदूत वाग्वा ओगाहले नेपालमा जापानीजहरुबाट भएको लगानीमध्ये ठूलो रकम होटलमा भएकोले नेपाल र जापानबीच सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा स्थायी सरकारको शुरुवातले विकास निर्माणमा गति बढ्ने विश्वास रहेकोले जापानले सहयोग बढाउने बताए ।

पर्यटन सचिव कृष्ण प्रसाद देवकोटाले जापानको सहयोगले नेपालमा महत्वपूर्ण भूमिका खेलेकोले पर्यटन क्षेत्रको विकासले देशको आर्थिक बृद्धिदर बढ्ने बताए । मुख्य लगानीकर्तामा साही बगवा र मात्सुमोतुले नेपालको सुन्दरताले जापानीज पर्यटकको बृद्धि भएकोले लगानी मार्फत होटल निर्माण गरिएको बताए ।

होटलका प्रबन्ध निर्देशक ताकासी मिहाराले आफ्नो नेपाल बसाइसँगै पर्यटन क्षेत्रको विकासमा सकृय रहेको र होटल निर्माणले जापान र नेपाली बिचको सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा होटलका जनरल म्यानेजर सरद सत्यालले होटलको शुरुवातसँगै पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका सँगै सामाजिक उत्तरदायित्वमा सकृय हुने बताए ।

होटलमा जापानीज व्यवसायीहरुको ७६ प्रतिशत र नेपालीको २४ प्रतिशत लगानी रहेको संचालक तिर्थराज त्रिपाठीले बताए । आगामी सेप्टेम्वर महिनामा सबै तहका ४६ आकर्षक रुम सहित पूर्ण संचालनमा आउने होटल ४० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

कमेन्टहरु
Loading...