होटल संघद्वारा कर तथा लेखा तालिम

पोखरा, २५ फागुन / पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा बिहिबारबाट पोखरामा सुरु भएको दुई दिने आधारभूत कर तथा लेखा तालिमका ६० सहभागीलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ ।
आफ्नो प्रतिष्ठानको आयव्यलाई व्यवस्थित रुपमा राख्नका लागि ज्ञान प्रदान गर्दै लेखा र करका विषयमा जानकारी प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । लेखा र करका विषयमा व्यवसायीहरु विच थुप्रै अन्योल रहेको भन्दै विज्ञहरु मार्फत् त्यसलाई निराकरण गर्न तालिम संचालन गरिएको उनले बताए ।
ग्लोबल टच ट्रेनिङ कन्सल्टेण्ट प्रालि र नेपाल पर्यटन बोर्डको सहयोगमा तालिम कार्यक्रम सम्पन्न भएको हो । समापन समारोहमा संघका अध्यक्ष तुलाचन, प्रालिका अध्यक्ष सुनिल देबकोटा, निर्देशक मनोज काफ्ले लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा प्रालिका प्रबन्ध निर्देशक ऋषिराम पौडेल, संचालक हेमराज गौतम, कन्सल्ट्याण्ट डम्बरुराज बरालको पनि उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै सहभागी एवं नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेब त्रिपाठीले कर तथा लेखा सम्बन्धी तालिम आफ्नो लागि निकै प्रभावकारी भएको अनुभव सुनाए । करका विषयमा तालिमबाट धेरै बुझ्न पाइएको भन्दै उनले तालिम निकै सकारात्मक र उपयोगी भएको बताए ।
यसअघि बिहिबार नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले कर तथा लेखा सम्बन्धी विषयबस्तुको प्रस्तुतीका लागि माउस क्लिक गरी कार्यक्रमको उद्घाटन गरेका थिए । संघका महासचिव गणेशराज पहारीले कार्यक्रम संचालन गरेका थिए ।
कमेन्टहरु
Loading...