युनेक घाचोक उत्सबको आयव्यय सार्वजनिक

पोखरा, १ बैशाख ः कास्कीको घाचोक गाविस स्थित मेघराज निमाविमा गत कात्तिकमा संचालित प्रथम युनेक उत्सवबाट दुई लाख ११ हजार आठ सय २३ रुपैयाँ बचत भएको छ । महोत्सव आयोजक परिवर्तनका लागि युवा संजाल नेपाल (युनेक) ले बुधबार एक कार्यक्रमको आयोजना गरी उत्सवको हिसाव किताव सार्वजनिक गरेको हो ।

महोत्सवमा कूल आम्दानी आठ लाख ८७ हजार आठ सय तीन रुपैयाँ भएको छ । संजालका कोषाध्यक्ष सरिता लम्सालले कार्यक्रमका अवसरमा महोत्सवको आयाव्य विवरण सार्वजनिक गरेकी थिइन् । महोत्सवका अवसरमा कूल १५ लाख रुपैयाँ बराबरको कारोवार भएको पनि युनेकले जनाएको छ । महोत्सवका अवसरमा लोक गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, विभिन्न खेलकूदका कार्यक्रम, घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो ।

घाचोक वरपरका गाविसलाई समग्र आर्थिक उत्थानका लागि कृषि, पर्यटन, सांस्कृतिक, व्यापार, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रवद्र्धन गर्न र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु उत्सवको उद्धेश्य रहेको युनेकका अध्यक्ष मौसम कार्कीले स्मरण गराए । आय व्यय विवरण सार्वजनिक तथा नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा घाचोक गाविस सचिव शान्तिप्रसाद गौतम, समाजसेवी रविलाल पोखरेल, सिर्जना साहित्य सदनका अध्यक्ष भानु पोखरेल अविरल, जिल्ला शिक्षा कार्यालय कास्कीका श्रोत व्यक्ति टेकनाथ पीडित र नेपाली काँग्रेस गाउँ इकाई समितिका अध्यक्ष बेलवहादुर गुरुङ, एमाले गाउँ इकाई समितिका अध्यक्ष केशव पोखरेल लगायतले भनाई राखेका थिए ।

सो अवसरमा यही वर्ष गरिने दोश्रो युनेक उत्सवको बारेमा योजना समेत प्रस्तुत गरिएका युनेकका उपाध्यक्ष विजय लम्सालले जानकारी दिए । आगामी महोत्सव गाउँको पर्यटकीय तथा आर्थिक विकासमा केन्द्रित गरी आयोजना गरिने पनि उनले बताए । कार्यक्रममा गाउँका समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन युनेकका सचिव रेशमकुमार नेपालीले गरेका थिए ।

कमेन्टहरु
Loading...