फेवा महोत्सव सफल पार्न विशेष भेला

पोखरा, ४ फागुन ः फेवा किनारमा आयोजना हुन गइरहेको १३ औं फेवा नव वर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले सुझाव संकलन अभियान सुरु गरेको छ ।
आगामी चैत २८ देखि बैशाख २ गतेसम्म नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने महोत्सवलाई नयाँ र परिस्कृत ढंगले संचालन गर्ने उद्धेश्यका साथ संघले मंगलबार लेकसाइडमा एक विशेष भेलाको समेत आयोजना गरेको थियो ।
संघका सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट सुझाव संकलन गरी महोत्सवलाई नयाँ ढंगले संचालन गर्न उक्त भेलाको आयोजना गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

भूकम्प, नाकाबन्दी र विभिन्न हड्तालका कारण यो पटक पोखरा र नेपालकै पर्यटनमा सून्यताको अवस्था छाएको बताउँदै उनले कठित परिस्थितिमा पनि महोत्सव आयोजना गर्न लागिएको बताए । अहिले होटलको अकुपेन्सीमा ६० देखि ७० प्रतिशत सम्म गिरावट आएको जानकारी दिंदै उनले तातोपानी नाका बन्द हुँदा र आबश्यक मात्रामा अन्तर्राष्ट्रिय उडान नहुँदा पनि यस्तो अवस्था आएको उनले सुनाए । तर पनि आफूहरु भविश्यप्रति आसावादी रहेको र सार्क मन्त्रीस्तरीय बैठक पोखरामा गर्ने तयारीले थप उत्साह मिलेको उनले सुनाए ।

सो अवसरमा बोल्दै संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले महोत्सवको मुख्य उद्धेश्य पर्यटन प्रवद्र्धन गर्नु नै रहेको स्मरण गराउँदै महोत्सवलाई सफल पार्न सामूहिक प्रयासको आबश्कता औंल्याए । पर्यटन, खाना र संस्कृतिको पक्षलाई महोत्सवले केन्द्रमा राखेको पनि संयोजक तुलाचनले बताए । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षबाट सुझावको समेत अपेक्षा गरिएको उनले सुनाए । आबश्यक सुझाव होटल सदस्य र अन्यले समेत संघको कार्यालयमा टिपाउन सकिने सो अवसरमा जानकारी गराइयो ।

कमेन्टहरु
Loading...