दोस्रो भिमाद महोत्सव कात्तिक अन्तिममा

तनहुँ, १७ कात्तिक / तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाईको आयोजनामा ‘दोस्रो भिमाद महोत्सव’ हुने भएको छ । कात्तिक २९ देखि मंसिर ११ गतेसम्म महोत्सव हुनेछ । भिमाद रङ्गशालामा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘कला संस्कृतिको संरक्षण कृषि पर्यटन र व्यापार, दोश्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ नारासहित महोत्सव आयोजना गरिएको प्रचारप्रसार संयोजक राजु खनालले जानकारी दिए । ‘महोत्सवमा १ सय ९० स्टल रहनेछन्,’ उनले भने ।

महोत्सवमा भिमाद र आसपासका क्षेत्रमा उत्पादन गरिएका मास, बोडी, सिलम, गहत, पिडालु, तरुल, अदुवा, सुन्तलालगायतका खाद्यान्न, फलफूल तथा तरकारीहरु बिक्री तथा प्रदर्शनी गरिनेछ । महोत्सवमा कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, सांस्कृतिक प्रदर्शनीलगायतका गतिविधि हुने मूल आयोजक समितिका संयोजक चतुर्भुज सुवेदीले जानकारी दिए ।

‘औद्योगिक तथा अटोमोवाइल प्रदर्शनी तथा खरिद बिक्री, ताजा तरकारीहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय परम्परागत खानाका परिकारहरुको प्रदर्शनी, आदिवासी, जनजातिहरुको भेषभूषा तथा कला संस्कृति र झाँकीहरुको प्रदर्शनी पनि हुन्छ,’ उनले भने । स्थानीय पर्यटकीय गन्तव्यहरुको भ्रमणको व्यवस्था पनि महोत्सवमा गरिने बताइएको छ ।

महोत्सव भिमादलाई चिनाउँदै स्थापित गर्ने उद्देश्यले आयोजना गरिएकाले यसलाई सफल बनाउन भिमाद नगरपालिकाले सबै खालको सहयोग गर्ने भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले बताइन् । महोत्सव सञ्चालन गर्न ७३ लाख २२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...