सौन्दर्यकला क्षेत्रमा राहत प्याकेजको माग

पोखरा, १३ जेठ/ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले सौन्दर्यकला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरकारसँग माग गरेको छ ।

युनियनले कोरोना भाइरस (कोभिड–१९) का कारण यस क्षेत्रमा करिब ३ लाख जना उद्यमशील स्वरोजगारको भविष्य धरापमा परेको भन्दै राहतका प्याकेज ल्याउन ५ बुँदे माग राखेको हो । सोको लागि संस्थाले संघीय सरकार तथा सम्पूर्ण प्रदेशका मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको युनियन अध्यक्ष सुमन गुरुङले जानकारी दिइन् । ज्ञापनपत्रमा ५ बुँदा समेटिएका छन् ।

जसमा पेसा संचालनमा लिएको बैंक व्याज तथा करमा विशेष छुट हुनुपर्ने, लकडाउनभरको घरभाडा मिनाहा वा छुट व्यवस्थाका लागि सरकारबाट पहल हुनुपर्ने, संलग्न सबै सौन्दर्यकर्मीहरुको दैनिक जीवन निर्वाहको लागि राहत प्याकेज घोषणा गरिनुपर्ने, सौन्दर्य पेसा संरक्षण र प्रद्धर्वन गर्न कानुनअनुसार दर्ता भएका र सीटीइभीटीबाट प्रदान गरिएको प्रमाणपत्र आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने र बैंक व्याज तथा किस्ता तिर्ने समयसीमा आगामी माघसम्म थप गरिनुपर्ने माग गरिएको छ ।

युनियनले मंगलबारमात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई ज्ञापनपत्र बुझाएको महासचिव पवी गुरुङले बताइन् । सौन्दर्यकला क्षेत्र रोजगारीको लागि एउटा महत्वपूर्ण क्षेत्र रहेको र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ३ लाख जना स्वरोजगार रही राज्यलाई कर समेत तिर्दैआएकोले विषम परिस्थितिमा सहयोग गर्नुपर्ने युनियन संस्थापक अध्यक्ष एवं प्रदेश सदस्य मीना गुरुङले बताइन् ।

आफ्नो पेसा व्यवसायबाट केवल जीवन निर्वाहमात्र नगरी स्वरोजगार बनाउन विशेषतः एकल महिला, साधारण लेखपढ गरेका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको महासचिव पवी गुरुङको भनाइ छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउन युनियनका अन्य पदाधिकारी तथा सदस्य समेत सम्मिलित थिए ।

कमेन्टहरु
Loading...