सडक महोत्सवको प्रचार प्रसारका लागि हिंडेको रेवान टोलि पोखरा आयो

भ्रमण उपलव्धिमुलक भएको दावी
मंसिर २८,पोखरा/आगामी पौष १३ देखि पोखरामा शुरु हुन लागेको १५ औ सडक महोत्सवको प्रचार प्रसार तथा प्रवद्र्धनात्म भ्रमणमा हिंडेको रेवान पोखराको टोली विहिबार पोखरा आइपुगेको छ । टोलीले चितवन, लुम्बिनी, भैरहवा तथा पाल्पा लगाएतका स्थानहरुमा पत्रकार भेटघाट तथा सरोकारवालाहरुसंग छलफल गरेको थियो ।press met saurahaटोलिले विहिबार चितवनको प्रमुख पर्यटकिय क्षेत्र सौराहामा पत्रकार सम्मेलन तथा फरक फरक क्षेत्रका व्यवसायिहरुसंग भेटघाट गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै १५ औ सडक महोत्सवका संयोजक बलराम पहारीले नेपालका प्रमुख शहरहरुका मानिसहरु अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउन पोखरा आउन थालेको बताए । ‘महोत्सव १५ औ संस्करणसम्म आइपुग्दा नेपालीहरुमा अंग्रजी नयाँ वर्ष पोखरामा मनाउनुपर्छ भन्ने मान्यताको विकास भएको हामीले पाएका छौ’ उनले भने । यो मौसम पर्यटकिय दृष्टिकोणले अफ्सिजन भएपनि सडक महोत्सवले व्यापकता पाउँदै गएपछि यतिबेला पनि पोखरा आन्तरिक तथा वाह्य पर्यटकले खचाखच हुन थालेको उनको भनाई थियो ।

‘जसरी भ्यालेन्टाइन डे मनाउन सौराह आउँ भनि तपाईहरुले निमन्त्रणा गर्नुहुन्छ, त्यसैगरि नयाँवर्ष मनाउन पोखरा जाउँ भनि सवैलाई पोखरातिर पाईदिनुहोस’ उनले त्यहाँका पर्यटन व्यवसायिसमक्ष आग्रह गरे । चितवन र पोखरा दुवै पर्यटकिय दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्र भएकाले दुवै ठाउँमा पर्यटन विकासका लागि आपसि सहयोग र सद्भावको खाँचो रहने उनले औल्याए । पत्रकार सम्मेलनमा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले नेपालको कला साँस्कृतीक बुझ्न तथा मनोरञ्जन लिन पनि सडक महोत्सवमा पुग्नुपर्ने बताए ।

उनले पोखरा पर्यटकहरुका लागि सुरक्षित गन्तव्य भएको भन्दै पोखराका सुरक्षाकर्मिहरुले पनि यो महोत्सव सफल विगतदेखिनै उल्लेख्य सहयोग पुर्याउँदै आएको बताए । ‘रेवानले सडक महोत्सव आयोजना गरेर आर्थिक रुपमा फाइदा मात्रै खोज्दैन, यसले सामाजिक उत्तरदायित्वतर्फ पनि विशेष जोड दिन्छ’ उनले भने । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भुजेलले सडक महोत्सव पोखराकै प्रतिष्ठा भएकाले पनि यसलाई सफल पार्न पोखराका सवै संघसंस्थाहरु आ–आफ्नैं ठाउँबाट लागिपरेको बताए । रेवान सौराहाका अध्यक्ष सिताराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिबहादुर कोइराला, पश्चिमाञ्चल क्षेत्रिय होटल संघका प्रथम उपाध्यक्ष भरतराज पौडेल, टान पश्चिमाञ्चलका अध्यक्ष नारायणप्रसाद सापकोटा, नाट्टा क्षेत्रिय संघ पोखराका निवर्तमान अध्यक्ष ओम पाण्डे लगाएतले सडक महोत्सवका आकर्षणहरुमाथि प्रकाश पार्दै यो महोत्सव नेपालमै सञ्चान हुने अन्य महोत्सव भन्दा पृथक भएको बताएका थिए ।

कार्यक्रममा रेवान सौराहाका निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, सुवासचन्द्र गौतम, बछ्यौली गाविसका सचिव तेजेन्द्र लामिछाने, क्षेत्रिय होटल संघ चितवनका उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्ट,रेवान सौराहाका सहसचिव कृष्ण अधिकारी लगाएतले सडक महोत्सवको सफलताका लागि आ आफ्नों स्थानबाट सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गरेका थिए । गत २५ गते हिंडेको टोलिले यसअघि टोलिले पाल्पा र भैरहवामा पनि पत्रकार सम्मेलन गरेको थियो । प्रवद्र्धनात्मक दृष्टिकोणले भ्रमण फलदायी भएको रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

कमेन्टहरु
Loading...