‘ठूलो माछा’को भूमिकामा राजदूत यान्छी

 

पृथ्वीनारायण शाहले तत्कालिन परिस्थितिमा मुलुकलाई अखण्ड राख्ने अभिप्रायले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनेका थिए । त्यसबेलाको विदेश नीतिलाई मध्यनजर गरेर भनिएको हुनसक्ने उक्त वाणी आजपनि उत्तिकै सान्दर्भिक छ । दुई ठूला देशकाबीचमा च्यापिएको नेपालको भूगोललाई बचाइराख्न शाहले कुटनीतिक शैलीमा त्यसो भनेका हुन सक्छन् ।

 

तरुलको अर्थ सानो कमजोर भनिएको हुनसक्छ । तरुल आफ्नै स्थानमा अनुशासनपुर्वक बसिरहे पनि ढुंगा चट्पटाए क्षति पुग्ने सत्यबीच यो महावाणी आएको हुनसक्छ । हिजोको विस्तारवादको यूगमा बोलिएका वाणी अहिले झनै महत्वपुर्ण भएको छ । नेपाली राजनीतिमा वामशक्ति आएपछि चीन सक्रिय हुन थालेको छ । जब नेपालकालागि चीनको राजदूतमा हाउ यान्छीले पाइला टेकिन् तबदेखि देश तरंगित भइरहेको छ ।

 

त्यसो त साम्यवादलाई अंगाल्नेहरुबीच ‘विश्वभरका कम्युनिष्ट एक हौं’ भन्ने अन्तर्राष्ट्रिय नारा हुन्छ । कुनै एक देशमा कम्युनिष्ट पार्टीको अधिवेशन भए अन्य देशका पार्टी प्रतिनिधि सहभागी हुन्छन् । साम्यवादका समूल एजेण्डामा छलफल गरिन्छ । पूँजीवादविरुद्ध मोर्चा कसिन्छ । वादलाई संशोधन गर्दै अघि बढ्ने प्रण हुन्छ । तर त्यस देशको सरकार र पार्टी सन्चालनमा हस्तक्षेप हुँदैन । अझ राजदूतको त्यस्तो भूमिका त हुँदै हुँदैन ।

 

नेपालमा भिन्न राजमार्गबाट आएर यौटै बसपार्कमा भेटिएका दुई पार्टीबीच एकीकरणपश्चातको सत्ताप्राप्तीपछि सुरु भएको भागबण्डाको विवादमा राजदूत तुलो लिएर हिसाब मिलाउन हिँडिरहेकी छिन् । लाग्छ, उनलाई चीन–नेपालबीचको दौत्य सम्बन्ध भन्दा नेपाल कम्युनिष्ट पार्टीको सम्बन्धलाई घनीभूत गराउनु आवश्यक छ ।

 

नेपालमा हालसम्म फरकफरक राजनीतिक व्यवस्थाको प्रयोग भइरहेको छ । जुनसुकै कालखण्ड र व्यवस्थामा कुनै न कुनै हिसाबले भारत केन्द्रमा रह्यो । शक्ति र व्यापारमा उदाउँदै गरेको भारत चीनका लागि प्रिय हुन सकेको छैन । नेपालमा भारतले गरेको नाकाबन्दी, चीन–भारतबीच भएको सीमा विवाद र भारत–अमेरिकाको सम्बन्धले चीन सम्भवतः राजदूतमार्फत नेपालको र कम्युनिष्ट पार्टीको अभिभावक बन्न चाहन्छ । अझ नेपालमाथि भारतको खुफिया एजेन्ट ‘रअ’को क्रियाकलापलाई टक्कर दिन चाहन्छ ।

 

नेपाल–चीनबीचको ६० वर्ष लामो दौत्य सम्बन्धमा राजदूत यान्छीको पछिल्लो क्रियाकलाप उनको पदीय गरिमाविपरित छ । उनको हैसियतले स्वयंको मर्यादामाथि प्रश्न गर्छ । दलगत विवाद सुल्झाउन गरेको दौडधुप, चिनियाँ कम्युनिष्ट पार्टीको सूचना दिने र नेपाल कम्युनिष्ट पार्टीको सूचना लिने कामले यान्छी राजदूत कम चीनीयाँ कम्युनिष्ट पार्टीको एजेन्टकोे भूमिकामा बढी देखिएकी छिन् । राजदूत यान्छी अहिले दुई कम्युनिष्ट पार्टीको ¥यापोर्टिङ गर्दै सूचना अधिकृत जस्ती भएकी छिन् ।

 

भारतीय हस्तक्षेपले आजित भएका नेपालीलाई चीनसँग केही सकरात्मकता थियो नै तर त्यो विश्वास धुमिल बनाउने काम राजदूत यान्छीले गरेकी छिन् । नेपाल र नेपालीलाई न दक्षिण न त उत्तर, कतैबाट भएको हस्तक्षेप स्वीकार्य छैन । विश्व राजनीतिमा चीनको कूटनीतिलाई अपेक्षाकृत रुचाइएको छ । उसको सभ्य, आधुनिक र संस्कारयुक्त शैलीलाई विश्वले अनुशरण गर्न खोजेको पाइन्छ । साम्यवादी एकल अवधारणामा सत्ता चलाइरहेको चीनले पश्चिमा र पूँजीवाद अपनाएका देशलाई शालीन ढंगले जवाफ दिँदै आएको छ । तर नेपालमा पछिल्लो समय उसले देखाएको रवैयाँ ‘ठूलो माछा’को जस्तो देखिएको छ ।

कमेन्टहरु
Loading...