कविताः
छोरा तँ त शेर होइनस् कि जस्तो लाग्न थाल्यो
तँ शेर भए त,
कम्तिमा पनि एकपल्ट ठुलो गर्जन हुनुपर्ने
मेडिकलमै भए पनि सर्जन हुनुपर्ने ।
जङ्गलमै गएपनि टार्जन हुनुपर्ने
अनि पक्कै केही नयाँ गर्नुपर्ने
जति पछि हटे पनि अब त अघि सर्नुपर्ने ।
तँ त विदेशिएको पनि वर्षौं भइसक्यो,
मात्र फेसबुकमा रोइरहेको देख्छु
कछुवा जस्तै शोई रहेको देख्छु ।
न कुनै नाम छ न कतै दाम छ
कतै-कतै नभेटिने गुमनाम भएको देख्छु ।
मात्रै खान बस्न ठिक्क छ भन्छस्
आफुले खानै नदिएर पठाएको जस्तो देख्छु ।
कत्रो आश, भरोसा अनि बुढेसकालको लौरो देख्ने तँ मा
सुर ताल अनि त्यो भरोशा हराइरहेको देख्छु ।
हाम्रो एउटा पनि आशा अनि भरोशा छोइनस् कि जस्तो लाग्न थाल्यो
छोरा तँ त शेर होइन कि जस्तो लाग्न थाल्यो ।।
- विनोद श्रेष्ठ, पोखरा
(हालः अष्ट्रेलिया)