- सौगात पोखरेल
बाँच्ने भ्रममा हरेक दिन मान्छेहरुलाई आफ्नै सपनाहरुले थिचेर मारेको हुन्छ । र पनि उनीहरु सपना देख्न छाड्दैनन । सुन्दर सपना साकार भएको परिकल्पना गर्दै आफ्नै मुखमा सुर्यको दागबत्ती दिएर खिएका चप्पलको साहरामा सडकको लम्बाई नाप्नु नै केहि गर्न नसक्नेहरुको लागि केहि गर्ने अभिलासा मात्र बनेको छ । अनेक सुन्दर सपना पुरा गर्ने चाहनाले चप्पल छेडेर भुँई स्पर्श गर्दाको समय उसको पनि जिन्दाबाद र मुर्दाबादको नारा लगाउँदै वितेको थियो । उसँगै खाली खुट्टा नारा लगाउनेहरु आज सिँह दरबार पुगेका छन् । उसलाई निष्ठा र आदर्श सिँह दरबारको बाटोमा हिडाउन सकेन । उ पनि त्यो बाटो हिडेको भए सिँहदरबार पुग्न सक्थ्यो । हुन त नपुग्न पनि सक्थ्यो । सिहँदरबारमा पुग्नका लागि त समबेदनाहिन पो हुनुपर्छ । तर उसलाई त छिमेकीको हरेक दुखले दुख्थ्यो । जन्मदै किन गरिव भएर जन्मिए भन्ने प्रश्नले बारबार घोचिरहन्थ्यो ।
बिरवहादुरलाई सधैजसो एउटै प्रश्नले पिरोली रहन्थ्यो । ‘दिनरात पसिना बगाउदा पनि किन खान लाउनकै समस्या परिरहेको छ ?’ उ जवाफ खोज्न निस्कियो । उसले जवाफ त पाएन बरु आफ्ना थुप्रै सपनाहरुको हत्यारा भएर घर फर्कियो । सुन्दर घर बनाउने सपना छाडेर समाज बनाउन हिडेको बिरबहादुर आज घर न घाटको भए । समानता ल्याउन घर छोडेको बिरबहादुर घर फर्कदा उसै श्रीमती घर छाडिसकेकी थिईन् । सन्तान हुर्काउन ,बढाउन र पढाउन बन्दकीमा राखेको घरखेत साहुले छिनिसकेको थियो । ं
आजकाल विरबहादुरलाई देशको नक्सा खुम्चिएको चिन्ताले भन्दा पनि आफ्नो अनुहार खुम्चिएको चिन्ताले ज्यादा सताएको हुन्छ । उसो त उसले जवानीमा भारतबाट नै आएको पेन्ट किनेर भारतिय विस्तारबाद मुर्दाबाद नलेखेको पनि होईन । तर उसलाई नारा लेख्न लगाउने नेता सांसद भएरपछि भारतिय दुतावास कै सिफारिसमा आफ्नो छोरालाई भारतिय विश्वविद्यालयमा स्कलरसीपमा पढ्न पठाएको कुराले उसलाई बारम्बार घोचिरहन्छन् ।
घोच्न त उनलाई अहिले उनैकै पार्टीका प्रधानमन्त्रीले गरेको राष्ट्रबादको कुराले पनि घोची रहन्छ । राष्ट्रियता भनेको भुगोल भन्दा पनि जनताको खुशी हो भनेर बुझेको दिनबाट उसलाई मात्र पिधँमा पुगेको चिन्ताले बढी सताउँछ ।
धितोमा राखेको घर छिन्नका लागि मजदुरी गर्न काठमाडौँ हानीएको बिरबहादुर काठमाडौँ छिरेको केहि महिनामा नै सरकारले लकडाउन लगायो । लकडाउनसँगै बिरबहादुरको रोजीरोटी खोसियो । घरबेटीले लकडाउनको दुईमहिनापछि कोठाको चाँबी खोस्यो । अनि बिरबहादुर बर्षौ पछि सडकमा नै पुग्यो ।
हिजो जुन सडकमा उसले सर्बहाराको मुक्तिको सपना देखेर जिन्दाबाद र मुर्दाबादको नारा लगाएको थियो । बिभेद र दमन अन्त्य भएको सपना देखेको थियो । आज भात खानका लागि उ हरेक दिन टुँडिखेल पुग्छ । उसको जीवनमा टुँडिखेल पनि दुई फरक भुमिकामा देखा परेको छ । पहिले मुक्तिका सपना सजाएर नेताको भाषण सुन्न जान्थ्यो । नेताको भाषणमा जोडजोडले ताली बजाउथ्यो । अहिले भोकको चिन्ताले सताएपछि उ हरेक दिन त्यहि निशुल्क खाना खान पुग्छ । उसैले खाना खाएको ठाउँ माथिको आकाशमा नेताहरु हेलिकप्टर उड्छन् । हिजो त्यहि ठाउँमा नेताले गरेको भाषण सम्झिएर जोडजोडले ताली बजाउने बिरबहादुर आज चिलगाडीमा हिडेका नेतालाई सम्झेर आँशु बगाईरहन्छ । उसका आँशुहरुसँगै बगिरहेका हुन्छन उसका मुक्तिका सपना पनि ।
कोरोनाले सडकमा ल्याएपछि उसले सम्झन्छ हिजो नेताले गरेको भाषण,उसैगरि सम्झन्छ कम्युनिष्ट आदर्श ,तुलना गर्छ आफ्ना नेताहरुलाई माक्र्स र माओसँग तर उसले कहि समानता पाउँदैन । उसलाई जीन्दगीसँग एउटै कुराको मात्र पश्चताप छ । त्यो भनेको उसले गरेको राजनीति र नेताको सँगत हो । उसले मनमनै गम्यो राजनीतिमा लाग्ने समयमा पाखा पखेरा खनेको भए मात्र पनि आज सडकमा आउनु पर्थेन । न घर गुमाउनु पथ्र्यो न त परिवार नै गुमाउन पथ्र्यो ।
जीन्दगीमा जब भोकको समस्या मुख्य भएर आउँछ अनि त्यो बेला जीबनका कयौँ आदर्शहरु फिक्का फिक्का हुन्छन् ।
सोच्दा सोच्दै उसलाई आफ्नै टाउको भारी हुन थाल्छ अनि बिजुली चुरोट सल्काउँदै जीवन शर्माको गीत गाउँछ
सिमली छायाँमा बसी भरिया ठुलो स्वाश फेरेको……………