मुम्बईलाई हराउँदै चेन्नाईको शानदार जित

काठमाडौं । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपीएल टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।

आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९।२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गर्यो ।

चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए । अम्बाती रायडु प्लेयर अफ दी म्याच भए ।

मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भए ।

चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको शुरुवात खराब थियो । शेन वाटसन पहिलो ओभरमै चार रन बनाएर आउट भएका थिए । यस्तै मुरली विजयले एक रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रनमात्र थियो ।

तर अम्बाती रायडु र डु प्लेसिसको साझेदारीले चेन्नाईलाई जित दिलायो । उनीहरुले १४ ओभरमा ११५ रनको साझेदारी गरे । यस क्रममा मुम्बईका जसप्रित बुमराह महँगा सावित भए । उनले चार ओभरमा ४३ रन दिएका थिए ।

कमेन्टहरु
Loading...