काठमाडौं । स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजी मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १-० ले पराजित गरेको हो ।
३१ औँ मिनेटमा फ्लोरियन थाउविनले गरेको गोल नै मार्सेइलीको जितका लागि पर्याप्त बन्यो । तर यो खेल मार्सेइलीको जित वा पिएसजीको लगातार दोस्रो हारका लागि भन्दा पनि पाँच खेलाडीले इन्जुरी समयमा पाएको रातो कार्डका कारण चर्चामा छ ।
कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमारको लागि खराब रह्यो । खेलमा नेमारसहित पिएसजीका ३ र मार्सेका २ खेलाडीले रातो कार्ड पाए । पाँच खेलाडीले नै इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।
पिएसजीका लिएनड्रो परेडेस र लेभिन कुर्जुवा र मार्सेका डानियो बेनेडेट्टो र जोर्डन अमाभवी झगडामा सामेल भएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । परेडेस र बेनेडेट्टोले दोहोरो पहेँलो कार्ड पाएका थिए ।
त्यसपछि नेमार पनि त्यसमा समावेश भए र उनले रातो कार्डको सामना गरे । भिएआर कन्सल्ट पछि नेमारलाई रातो कार्ड देखाइएको थियो।
मैदान बाहिरिँदा नेमारले फोर्च अफिसियलसँग आफूलाई रेसिस्ट कमेन्ट भएको बताएका थिए ।
सन् १९८४(८५ पछि पिएसजीले पहिलो पटक लिगमा सुरुवाती दुई खेल हारेको हो ।