काठमाडौं । काभ्रेमा रहेको १ अस्पतालमा कार्यरत २३ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिकामा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै आज एकैदिन जिल्लामा २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको छ । एकैपटक धेरै कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बनेपाको स्पाइनल इन्जुरी हस्पिटल वरपर आवतजावतमा रोक लगाइएको छ ।
यता काठमाडौंको मनमैजुमा हत्या आरोपमा पक्राउ परेका व्यक्ति तथा उनीसंग सम्पर्कमा आएका ५ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पक्राउ परेका व्यक्तिले नुवाकोटमा लक्ष्मण रिमालको हत्या गरेका थिए । चक्कु प्रहार भएपछि अस्पताल भर्ना गरिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
हत्या गरेका व्यक्तिको कोरोना परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण भएको रिर्पोट आएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा सम्पर्कमा रहेका प्रहरीको समेत परीक्षण गर्दा ५ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।