आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीको ९ औं पूर्ण बैठकले कार्यवहाक अध्यक्ष भेषराज बरालको संयोजकत्वमा ११ हजार ७ सय ७७ सदस्यीय परिचालन कमिटी गठन गरेको हो । जिल्ला कमिटी कास्कीको सचिवालयलाई नै निर्वाचन परिचालन कमिटीको सचिवालय मानेर अगाडि बढ्ने निर्णय गरेको कार्यवहाक अध्यक्ष बरालले जानकारी दिए । एमाले कास्कीले पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका संयोजक कृष्ण थापाको संयोजकत्वमा निर्वाचन अनुगमन तथा सुपरीवेक्षण कमिटी गठन गरेको छ ।कार्यक्रममा एमालेका केन्द्रीय कमिटीका सचिव खगराज अधिकारीले गत भदौ २३ गतेको घटना प्रतिक्रान्तिको चाल भएको आरोप लगाए । ‘१५ जेठ २०८२ लगायतका शृंखलाबद्ध घटनाको पटाक्षेप भदौ २३ गतेको घटना हो,’ एमाले नेता अधिकारीले भने, ‘भदौ २३ गतेको घटना सरकारी कार्यालय, निजी निवास, उद्योग तथा प्रतिष्ठानका आगजनी तोडफोड र लुटपाट लगायतका क्रियाकलापका लागि २४ गते ल्याउने षड्यन्त्रको जालसमेत हो ।’उनले अमेरिकी साम्राज्यवादको योजनामा नेपालमा प्रतिक्रान्ति भएको बताए । उनले एमालेले महाधिवेशन मार्फत हरेक प्रदेश र खुल्ला युवाबाट २५ प्रतिशत युवाको केन्द्रीय कमिटीमा सहभागिता गराएको जानकारी दिए । उनले एमालेले नै नवयुवाको भविश्य सुनिश्चित गराएको दाबी गरे ।
एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले प्रतिक्रान्तिबाट जन्मेको शक्तिसँग राष्ट्रवादीले चुनावी प्रतिस्पर्धा गरेको तर्क गरे । उनले राणा, पञ्च र सशस्त्र द्वन्द्वकालमा समेत अर्काको घरमा आगो नलगाएको उल्लेख गरे । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले गठबन्धनविरुद्ध एक्लै चुनाव जितेको कास्कीमा सिंगल लड्दा हार्ने छुट नभएको जनाए ।
एमाले कास्कीका कार्यवहाक अध्यक्ष बरालले चनाव जित्न वडा केन्द्रीत गतिविधि गर्ने जनाए । उनले घर घरमा गएर मतदाता भेटघाट गर्ने उल्लेख गरे । कार्यक्रममा कास्की क्षेत्र नम्बर १,२ र ३ का उम्मेदवार क्रमशः बैनबहादुर अधिकारी क्षत्री, रश्मि आचार्य, दामोदर बैरागी पौडेल, एमाले कास्कीका सचिव दर्शन लामा, उपसचिवहरु लालबहादुर परियार, सन्तु सुवेदी लगायतले बोलेका थिए ।