कास्कीमा भतिजले खुकुरी प्रहार गरी काकाको हत्या

पोखरा, २८ असार / कास्कीको मादी गाउँपालिकाका एक ८० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । मादी–४ घामनुङका पीताम्बर सापकोटालाई उनकै भतिज पर्ने ५५ वर्षीय नवराज सापकोटाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपी नवराज सापकोटालाई आइतबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । खुकुरी प्रहारबाट पीताम्वरका छिमेकी ७७ वर्षीय केशवराज सापकोटा घाइते भएका छन् ।

बारीको घाँसको बिषयमा सामान्य भनाभन हुँदा शनिबार साँझ घरमा खाना खाइरहेका पीताम्बर सापकोटा माथि नवराजले खुकुरी प्रहार गरी हत्या गरेको अनुसान्धानबाट खुलेको कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते केशवराज सापकोटाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा चारवटा टाका लगाइएको छ ।

खुकुरी प्रहारपछि घरपरिवारले हार गुहार गर्दा घटनास्थल पुगेका केशवराज माथि पनि नवराजले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

घटनापछि नवराज राति नै घरबाट भगेर पोखरातर्फ आएका थिए । उनलाई प्रहरीले आइतबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १३ कसेरी बजारबाट पक्राउ गरे थियो ।

नबराज बिरुद्ध जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि वढाइएको श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...