मृत्यु भएका व्यक्तिको पासपोर्टबाट १५ वर्ष अमेरिका

काठमाडौं, २५ भदौ /मृत्यु भएका व्यक्तिको पासपोर्टबाट एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफलको तथ्य बाहिर आएको छ । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। आजको नयाँ पत्रिकामा खबर छ ।सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो।

१५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए। पासपोर्ट पनि त्यही नाममा थियो।

पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए। तर, एउटा औंठाछापले १५ वर्षअघिको उनीहरुको अपराध अहिले आएर बाहिर आएको छ। हाल दुवै हिरासतमा छन्। तीन साताअघि उनीहरु पक्राउ परेका हुन्।

मानव तस्करीमा संलग्न एक समूहबाट लाक्पा र थोक्पाले अमेरिकाको भिसा लागेका दुईओटा पासपोर्ट १५ लाख रुपैयाँमा किनेका थिए। सोही समूहले पासपोर्टमा उनीहरुको फोटो परिवर्तन गरिदिएको थियो। त्यही पासपोर्टबाट उनीहरु सन् २००२ मा अमेरिका पुगेका थिए। दुई महिनाअघि सोही पासपोर्टमा नेपाल फर्किए। कसैले थाहा पाएन।

यो १५ वर्षमा उनीहरु अमेरिकामा स्थापित भइसकेका थिए। छोरी अमेरिकी सेनामा भर्ना भइसकेकी थिइन्। अब अमेरिका जान दुवैलाई गाह्रो थिएन। त्यसकारण आफ्नै नाममा पासपोर्ट बनाएर भिसाका लागि सबै कागजपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाए। दूतावासमा दुवैले आफूहरु यसअघि कहिल्यै अमेरिका नगएको बताएका थिए।

तर, औंठाछापबाट उनीहरुको अपराध पत्ता लाग्यो। औंठाछाप सामान्यतः कसैसँग मिल्दैन। तर, लाक्पा र थोक्पासँगै मिल्ने औंठाछापको व्यक्ति अमेरिका गएर आइसकेका थिए। थप छानबिन गर्नेक्रममा उनीहरुले आफ्नो विगत लुकाउन सकेनन्। त्यसपछि दूतावासले प्रहरीको विशेष ब्युरोलाई खबर गरी बुझायो।

ब्युरोले सामान्य सोधपुछपछि उनीहरुमाथि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो। प्रहरीले उनीहरुलाई राहदानी एनेअनुसार अनुसन्धान अघि बढाएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालयले राहदानी ऐनभन्दा अध्यागमन ऐन आकर्षित हुने भन्दै गत बुधबार अध्यागमन विभागमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी योगेन्द्रसिंह थापाले बताए।

कमेन्टहरु
Loading...