पश्चिमाञ्चल र डिज्नील्याण्ड एकेडेमीमा सरस्वती पूजा

पोखरा, २० माघ /पश्चिमाञ्चल उच्चमाविमा बुधबार सरस्वती पूजा गरिएको छ । त्यही अवसरमा बालबालिकाका लागि अक्षरारम्भ कार्यक्रम समेत गरियो । प्राचार्य ताराबहादुर घिमिरेका अनुसार विद्यालय आसपासका २० जना बच्चाहरुले त्यस अवसरमा अक्षरारम्भ गरेका थिए । त्यही अवसरमा विद्यालयमा कविता वाचन पनि गरियो ।

कविता वाचनमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो । विद्याकी देवी सरस्वतीको महत्वको बारेमा बालबालिकालाई बुझाउन विद्यालयले वर्षेनी यस्तै कार्यक्रम गर्दै आएको घिमिरेले बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा. विश्वकल्याण पराजुलीले श्रीपञ्चमीको दिन अक्षरारम्भ गराउँदाको महत्वबारे प्रकाश पारेका थिए । श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन भएकोले यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ ।

यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । त्यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो लागेको थियो ।

त्यसै गरी डिज्नील्याण्ड एकेडेमीमा वास्तु तथा सरस्वती पूजा गरेको छ । वसन्त पञ्चमीको दिनमा पोखरा ७ मासवार, कोलवारी मार्ग स्थित डिज्नील्याण्ड एकेडेमीको नव निर्मित विद्यालय भवनको वास्तु पूजा तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा विद्यालयका निर्देशक विश्वेश्वर पराजुलीले सरस्वती माताको नव निर्मित मुर्ती स्थापना गरी कार्यक्रमको समुद्घाटन गरे ।

वैदिक विधि अनुसार गरिएको वास्तु तथा सरस्वती पूजामा विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, शिक्षक तथा सुभेच्छुकहरुको हषोल्लास साथ सहभागिता रहेको कुरा कार्यक्रम संयोजक दिपेश बरालले जानकारी दिए । उक्त अवसरमा विद्यार्थीहरुद्वारा विज्ञानका प्रयोगात्मक कार्य तथा चित्रकला प्रदर्शनी समेत भएको थियो । २ सय जना स–साना भाइवहिनीहरुले अक्षरारम्भ समेत गरेका छन् ।

कमेन्टहरु
Loading...