सामुहिक नेवारी साँस्कृतिक भोज झ्व भ्वय हुने

पोखरा, २१ पुस/नेवा खल कास्कीको आह्वान तथा नेवा मिसा पुच कास्कीको आयोजनामा शनिबार पोखरामा झ्व भ्वय, नेवारी साँस्कृतिक भोज हुने भएको छ । शहरीकरणले निम्त्याएको आधुनिकता संगै मौलिक खाना तथा साँस्कृतिक भोजहरु हराउदै गएकाले नेवारी सभ्यता संग जोडिएको साँस्कृतिक भोज झ्व भ्वय गर्न लागिएको आयोजक नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले बताए ।

“झ्व भ्वय भन्नाले नेवार समुदायमा परम्परागत रुपमा चल्दै आएको मौलिक नेवारी खानाको संस्कार नै हो ।” संस्कृतिविद तिर्थ श्रेष्ठले भने “जसमा सहभागी सबै जना लस्करै बसेका हुन्छन, सहभागी मध्य सबैभन्दा पाको ब्यक्तिले खान शुरु गरे पछि खाने र खान सकेर चुठे पछि मात्रै सबैले चुठ्ने चलन हुन्छ ।” गत वर्ष देखि नेवा मिसा पुच कास्कीले नेवारी साँस्कृतिक भोज झ्व भ्वय गर्दै आएको छ । अघिल्लो बर्ष ११ सय जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए ।

यस बर्ष पनि सोही अनुपातमा भोजमा सहभागी हुने बिश्वास लिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । कार्यक्रममा प्रबेशका लागि ७ सय रुपैयाको टिकट तोकिएको छ । कार्यक्रमबाट बचेको रकम नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धनमा गरिने बिभिन्न कार्यक्रमका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

नेवारी संस्कारमा कुनै पनि कार्यक्रम गर्नु पुर्व बाधा ब्यवधान नहोस भन्नका लागि क्षमा पुजा गर्ने चलन रहेकोले उक्त पुजा कार्यक्रमको अघिल्लो दिन शुक्रबार गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...