गुल्मी ,१ पुस । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले खुलाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६-१-०-७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो ।
यसैबिच आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको सरुवा माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् ।नेकपा एमालेका नेता एवम् गुल्मीका सांसद गोकर्ण विष्ट पनि शुक्रबारै जिल्ला सदरमुकाम पुगेका छन् ।
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई आग्रह गर्दै आएका छन् ।