डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

मोरङ / डेढ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।

घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् ।

उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट गरेका थिए । त्यसपछि उनीहरु केरा बगानमा गई गाँजा सेवन गरेका थिए ।

गाँजा सेवन गरेपछि अजयले कोही नभएको मौका छोपी बालिकाको घरमा गएर बालिकालाई बनमारा झाँडीमा ल्याएको प्रहरीले जनाएको छ ।

बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगाले हानी उनीहरुले बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...