राष्ट्रपति भण्डारी आज मनाङ आउने, नेपालकै ठूलो स्याउ फार्म अवलोकन गर्ने

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार अवलोकन भ्रमणका लागि मनाङ आउने भएकी छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए ।

“मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि (नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म) स्याउ फार्मलगायतको अवलोकन गर्ने भ्रमण तालिका रहेको छ । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।

त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ ।

रासस

कमेन्टहरु
Loading...